Sunday, May 31, 2009

शान्ति-दीप

यदि शब्दको आत्मा हुन्छ
र शब्दले अनुभूति गर्छ भने
आज आश्चर्य शब्द स्वयम् नै आश्चर्यमा परिरहेछ
कि म मारिएँ
निसन्देह म मारिएँ
तर मेरो हत्यारा दिउँसै दियो बालेर हिँडिरहेछ ।
नित्सेले दिउँसै दियो बालेर
भगवान खोज्न हिँडेका थिए रे
तर मेरो हत्याराआफैलाई खोज्न हिँडिरहेछ-
ऊ आफू हरायो अरे ।

एकदिन उसले पानीको रहमा
आफ्नै शान्त र स्थिर प्रतिविम्ब हेर्ने कोशिस गर्दै थियो
रहमा ठूलो माछाले सानो माछालाई खाँदै थियो
जब ठूलो माछाको मुखमा सानो माछा फट्फटायो
र पानी तरंगित भयो
तब पानीमा उसको प्रतिविम्ब फाटियो
ऊ आफू आफैलाई विकराल लाग्यो
जति-जति सानो माछा ठूलो माछाको मुखमा चल्मलायो
उति नै पानीबाट उसको प्रतिविम्ब हरायो
हो मेरो हत्यारात्यही आफ्नो हराएको प्रतिविम्ब खोजिरहेछ
निसन्देह म मारिएँ तर मेरो हत्यारा दिउँसै दियो बालेर हिँडिरहेछ ।

ऊ दियो बाल्दै-बाल्दै मन्दिरमा पुग्छ
जहाँ दियो बाल्नेहरुको भीड छू
शान्ति-दीप
तर यो भने आश्चर्य होइन
कि आज शान्ति शब्द स्वयम्ले नै शान्ति चाहन्छ
लाख बत्तिको माझ
मेरो हत्याराको दियोको छुट्टै अस्तित्व रहेन
मेरो हत्याराले आँखा बन्द गर्यो
र आफैभित्र यति उज्यालो अनुभव गर्यो
कि जीवनको उज्यालो भन्दा ठूलो अर्को कुनै उज्यालो थिएन ।


फेरि दिउँसै दियो बाल्दै-बाल्दै
मेरो हत्यारा मसानघाटमा पुग्दछ
यो पनि आश्चर्य होइन-जिउँदा मान्छेहरुको बस्ती मसानघाटमा बद्लिएछ
जहाँ लाखौं लासहरुको लहरमालाख-बत्ति याने कि दाग-बत्ति बलिरहेछ
अँ आश्चर्य त त्यहाँ हुन्छ-
ती लाखौं लासहरु मेरै लास जस्तो लाग्दछ ।

अब मेरो हत्याराले ती लाखौं दाग बत्तिहरुलाई छुनेछ
अथवा ऊ आगोसँग जिस्कनेछ
अनि त सारा आश्चर्य हराउनेछ
र यो यथार्थ निस्कनेछ कि
मेरो हत्यारा म नै थिएँ
ती लाखौं लासहरु मेरै थिए ।

यदि शब्दको आत्मा हुन्छ
र शब्दले अनुभूति गर्छ भने
आज आश्चर्य शब्द स्वयम् नै आश्चर्यमा परिरहेछ
कि म मारिएँनिसन्देह म मारिएँ
तर मेरो हत्यारा दिउँसै दियो बालेर हिँडिरहेछ ।

No comments:

Post a Comment