Thursday, June 25, 2009

हजुरबाको हुक्का

हिजो दिनको उज्यालोमै
हाम्रो घरमा चोर पस्यो
र सर्वोस्व लुटेर लग्यो
तर लगेन- हजुरबाको हुक्का ।

हजुरबाले पुराण सुनाउनु हुन्थ्यो
पुस्तौं पुरानो यो हुक्का
चोरहरुले नै छाडेर गएका थिए रे
ती चोरहरु
जस्ले आकाश-तत्वबाट
ॐ को आवाजलाई फोर्न चाहन्थे
शास्त्रका शब्दहरुलाई चोर्न चाहन्थे
वेदलाई त आफ्नै बँशको अँशको सम्झन्थे
र भन्थे रे-ब्रह्म सत्य जगत मिथ्या !
ती चोरहरुमा थियो जो धृष्टता
जब आफैलाई जित्न सकेनन्
तब संसारलाई जित्नतिर लागे
निमूखालाई मिच्नतिर लागे
र त्रास फैलाउन थाले यस्तो एउटा-
ए शुद्रहरु हो सुन !
हामीले भनेको मान
हाम्रै हुक्का तान
नत्र रिसाउने छन् देवता ।

मलाई हेक्का छ
हजुरबाले हुक्का तानेको आवाज
जुन कोही हाँसेको वा रोएको जस्तो पनि होईन
कुनै सूर वा तालले छोएको जस्तो पनि होईन
हो यो हुक्काले युवाहरुको आवाज उठाउँदैन
र मलाई हजुरआमाको सम्झना पनि गराउँदैन
हुर् याई दिउँ जस्तो लाग्छ
यो हजुरबाको हुक्का
यही हुक्कालाई तान्दा-तान्दै
उही पुराना मान्यतालाई मान्दा-मान्दै
खस्नु भएथ्यो हाम्रो हजुरबा ।

अचम्मै भयो
समयसँगै यो हुक्का बढ्दै-बढ्दै आयो
संसारमा कहिँ कतै नअटाउला जस्तो
यो एमानको हुक्कालाई
हामी हजारौं मिलेर
ज भिरबाट खसाल्दै छौं
अहो कत्रो भिड हो त-
तल काँध थाप्नेहरुको !
आखिर यिनीहरु नै सती जान्छन् भने
हाम्रो भन्नु के रह्यो

हिजो दिनको उज्यालोमै
हाम्रो घरमा चोर पस्यो
र सर्वोस्व लुटेर लग्यो
तर लगेन- हजुरबाको हुक्का ।