Saturday, May 30, 2009

छोरो-मान्छे

सानो छँदाको साँचो कुरा भन्नु पर्दा-
म मेरो हजुरबाको मृत्युमा रोइन ।

मेरो कपुरी 'क' दुब्लाएर भने होइन
हो, हजुरबालाई 'मुना-मदन' पढेर सुनाउँदा
म धर्धर्ती रोएको थिएँ
त्यति बेला म कुन संवेदनामा रोएको थिएँ-थाहा छैन !
तर ताजा सम्झना छहजुरबा भन्नु हुन्थ्यो-
'छोरो मान्छे भएर रुनु हुँदैन ।'
सानो छँदाको साँचो कुरा भन्नु पर्दा-
म मेरो हजुरबाको मृत्युमा रोइन ।

वास्तवमा
मेरो हजुरबाको मृत्यु भएको कुरामा
किन-किन मलाई विश्वासै लाग्दैनथ्यो
हजुरबा न भूतसँग डराउनु हुन्थ्यो,
न बाघसँग डराउनु हुन्थ्यो
अनि मलाई मृत्यु भनेकै भूत र बाघ हो भन्ने लाग्थ्यो
खैर आज हजुरबा बाँचेको भए यो विकास र परिवर्तनलाई देख्नुहुन्थ्यो-
अचेल भूतहरु ठूला-ठूला भवनमा बस्छन्
बाघहरु विस्थापित/लोप हुँदैछन्
बाघहरुलाई सुरक्षा दिनु पर्ने बेला आएको छ
तर स्यालहरु बाघको छाला ओडेर झुक्याउँदै छन्
यी दुबैथरी त्यति भयङ्कर लाग्दैनन्
सायद यिनीहरु जनतासँग डराउँछन्
हिजो-आज मुनाहरु पनि भोट पुर्याइन्छन्
तर मुनाहरु फर्केर नआएको सुर्तामा मदनहरु मर्दैनन्
अचेल मुनाहरुलाई बेच्न पनि मदनहरु पछि पर्दैनन् ।

मलाई माफ गर्नुस् हजुरबा !
म दिनहुँजसो नरोई रहन सक्दिन
मलाई डर लाग्छ मेरी मुनालाई पनि कसैले बेचि पो दिन्छ कि !
कतै मैले नै मेरी मुनालाई बेचिदिन्छु कि !!
हो मभित्र पनि एउटी मुना छे र सायद म रुन्छु
हजुरबा !
के साँच्चिकै छोरो मान्छे रुनु हुँदैन
कि कतै म छोरी मान्छे त होइन
सानो छँदाको साँचो कुरा भन्नु पर्दा
म मेरो हजुरबाको मृत्युमा रोइन ॥

1 comment:

  1. यो कविता पढेपछि ध्रुवसत्य एक सिर्जनशील/उर्जाशील स्रष्टा हुन् भन्ने सत्यलाई फेरि स्वीकारेको छु ।

    ReplyDelete