Friday, November 21, 2014

सहिदकी छोरी


बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ । हल्लाले चारभञ्ज्याङ खायो । निर्झरी २९ वर्षीया एकल महिला हुन् । उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो । देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो । यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ । किनभने, वस्तु र वास्तविकता कतै पर छ । सुरुसुरुमा निर्झरी काम्दै बर्बराउन थालिन् । गाउँलेले उनलाई बोक्सी भने । घर-परविारले यातना दियो । तर, उनको बेलाबेला काम्ने र बर्बराउने कार्य निरन्तर नै रह्यो ।
एक दिन उनलाई ठूलाघरे जिम्मावालको मृतात्मा उत्रियो । जिम्मावाल खसेको त्यस्तै आठ-दस वर्ष मात्रै भएको थियो । जिम्मावालका छोरा-नाति गाउँको सारा सम्पत्ति बेचेर सहर पस्ने तरखर गर्दै थिए । गाउँ छाड्नु केही दिनअघि उनीहरूले गाउँलेलाई भोज खुवाए । भोज खाँदाखाँदै निर्झरीलाई पितृ उत्रियो : 'म ठूलाघरे जिम्मावाल हुँ । आफ्ना सन्तानदेखि म खुसी नै छु । सबैले उन्नति गरेकै छन् । तर, थातथलोलाई यसरी चटक्कै छाडेर जान नहुने थियो । ठीक छ, तिमीहरूको खुसी गर ! शाखा-सन्तानको खुसी नै पितृको खुसी हो । जानुअघि हाम्रा नाममा बर-पीपलको चौतारी बनाएर जानू, हाम्रो आत्मा बिसाउने स्थान होस् । अँ, मैले धेरथोर जालझेल गरी दीनदुःखीका जग्गा-जमिन खाएको थिएँ । उनीहरूलाई नै हकदाबी गर्न लगाएर फिर्ता दिनू । माथि कालिकाको मन्दिरमा पित्तलको मूर्ति छ । त्यहाँको सुनको मूर्ति मैले ल्याएको थिएँ । त्यसलाई तिमीहरूले सहर लगेर बेच्ने कुरा गर्दै छौ । त्यसो नगर ! त्यस मूर्तिलाई कालिकाको मन्दिरमै पुनःस्थापना गर्नू । यति गर्‍यौ भने मेरो आत्माले शान्ति पाउनेछ ।' यसपछि निर्झरीको घरमा पितृ बोलाउन आउनेको घुइँचो लाग्न थाल्यो ।
---
यता, पालुवाटारका शिवशंकर पहाडी चुनाव लड्ने भए । उनका पिता रामभक्त पहाडी प्रधानपञ्च थिए । त्यसैले पनि ०४६ सालको परिवर्तनदेखि नै जिल्ला, क्षेत्रमा शिवशंकरको उत्पातै नेतागिरी चल्छ । शिवशंकर पहाडीको व्यक्तित्व पहाडजस्तै छ । अग्लो कद । लामो कपाल, लामै दाह्री-जुंगा (पहिले कालो, अहिले सेतो) । सानोतिनो सभा/भेलाका लागि माइक नै नचाहिने ठूलो आवाज । साम, दाम, दण्ड, भेदको खेल बुझेका । एक प्रकारले उनी राजसी ठाँटका देखिन्छन् । आफ्नो जिल्ला, क्षेत्र हुँदै सिंहदरबारसम्म छिरेर टेबल ठटाएपछि सानोतिनो बजेट-कार्यक्रम उनको क्षेत्र-पोल्टोमा पुग्नैपर्छ ।
दुर्भाग्य भनौँ, उनको पदीय हैसियत गाविस अध्यक्षभन्दा माथि छैन । सांसदका लागि उम्मेदवार हुन पनि पाएका थिएनन् । सांसद बन्ने रहरमा उनले थुप्रै सम्पत्ति सिध्याए । बाबुको देहान्तपछि आमा बिरामी परिन् । नेपाली र भारतीय डाक्टरसम्मले रोग पत्ता नलगाईकनै आमाको पनि निधन भयो, ९० वर्षको उमेरमा । आमालाई सांसद भएर देखाउने उनको रहर अधुरै रह्यो ।
विगत १२ वर्षदेखि शिवशंकर बढी नै धार्मिक भएका छन् । मातापिताको चिरशान्तिका लागि उनी हरेक बिहान पूजापाठ गर्छन् । ०६४ सालको संविधानसभा चुनावका लागि पार्टीले शिवशंकरलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर, उनले मधेसबाट चुनाव लड्नुपथ्र्यो । पहाडीले मधेसबाट चुनाव जित्नु चानचुने कुरा थिएन । पछिल्लो समय मधेसमा एकसे एक स्थानीय नेताको प्रभाव बढ्दो थियो । मधेसी जनताले पनि पहाडी नेताबाट आफूहरूको परविर्तन नहुने बुझेका थिए ।
शिवशंकर पहाडीलाई चिन्ता पर्‍यो, चुनाव कसरी जित्ने?
उनकी श्रीमती पार्वतीदेवीले युक्ति दिइन्, 'हामीले पनि पितृ बोलाएर बुझौँ, उहाँहरूको आत्मालाई कस्तो छ? अनि, यो चुनाव लड्नु उचित छ/छैन? शुभकार्यमा पितृलाई सम्झनु रामै्र हुन्छ ।' 'कुरा ठीकै हो ।' शिवशंकर पितृ बोलाउन बेचयनपुर पुगे । उनले पहिले आमाको आत्मालाई बोलाउने निर्णय गरे ।
निर्झरीलाई पितृ उत्रियो, 'छोरा ! तैंले हाम्रो आत्मशान्तिका लागि पूजापाठ गर्दै आएको छस् । म तँदेखि खुसी नै छु । आफ्नो थातथलोमा बाटो-घाटो, बिजुली ल्याएको छस् । स्कुल-क्याम्पस खोलेर गाउँको विकास गरेको छस् । सबै राम्रै गरेको छस् । तर, गाउँका कति गरबि, भूमिहीन जनतालाई तैंले गरेको विकास कागलाई पाकेको बेल बनेको छ । उनीहरूलाई बाँच्न झनै कठिन भएको छ । उनीहरूले बोक्ने भारी पनि गाडीले खोसेको छ । उनीहरूले गर्ने काम मेसिनले गर्न थालेको छ । घरदैलोको स्कुल-क्याम्पस पनि उनीहरूलाई बिरानो बनेको छ । अब तैंले चुनाव जितेर ती दीनदुःखी जनतालाई पनि उन्नति पथमा हिँडाउनुपर्छ ।'
'आमा, मैले कसरी चुनाव जित्न सक्छु?'
निर्झरीको जवाफ आयो, 'पारि दुःखीनगरमा एउटी आमिश्रा नाम गरेकी कन्या छे । त्यस कन्याको बायाँ आँखाबाट झरेको हर्षाश्रु पिउनू, तैँले अवश्य चुनाव जित्नेछस् ।'
---
आमिश्रा सहिद परिवारकी छोरी रहिछन् । पिता सहिद भएपछि उनको परिवार ठूलो दुःखमा परेको रहेछ । शिवशंकरले त्यो सहिद परिवारलाई सहयोग गरे । आमिश्रालाई छात्रावासमा राखेर पढाउने व्यवस्था मिलाए । आमिश्राको रेखदेखका लागि एउटी महिला खटाएका थिए । ती महिलालाई गोप्य निर्देशन थियो, आमिश्राको हर्षाश्रु कुनै भाँडामा संकलन गर्नू ।
आमिश्राले धेरैपटक आँसु खसाइन् । देशको अवस्था पनि जनता रुवाउने नै थियो । आमिश्राले हर्ष या विस्मात् कुन अवस्थामा आँसु झारनि् भन्ने ती सुसारेले खुट्याउन सकिनन् । अर्कोतिर, आमिश्राको प्रत्येक आँसु विपक्षी उम्मेदवारलाई बेच्न एउटा गिरोह नै लागेको थियो । धेरै दिन बित्यो । शिवशंकरले आमिश्राको हर्षाश्रु पिउन पाएनन् । उनले शंका गरे । त्यसपछि आमिश्राकी सुसारे महिलालाई नै हटाए । र, नौवर्षे आगम नाम गरेको एक बालकलाई खटाए ।
आगम टुहुरो थियो, सहरको सडकबालक । ऊ कहाँबाट सडकमा आइपुग्यो, उसैलाई थाहा थिएन । तर, शिवशंकरलाई थाहा थियो, कुनै पनि काम दीनदुःखी वा असहायले इमानदारीपूर्वक गर्छन् । शिवशंकरले उसलाई सडकबाट उठाएर आगम नाम दिए । गाँस-बास दिए । काम पनि दिए । उसको काम आमिश्रासँगै खेल्नु, आमिश्रा खुसीले रोएका बेला आँसु संकलन गर्नु ।
आगम र आमिश्रा सँगै खेल्थे । आगम आमिश्राभन्दा थोरै जेठो थियो । एक दिन आगमले सोध्यो, 'आमिश्रा, के गर्दा तिमी धेरै खुसी हुन्छ्यौ?'
'गाउँमा मेरा धेरै साथी छन् । तिनीहरू स्कुल पढ्दैनन् । तिनीहरूसँग खेल्न, पढ्न पाएदेखि म कत्ति खुसी हुन्थेँ,' आमिश्राले भनिन् ।
'म तिम्रा साथीहरूलाई बोलाउन जान्छु । उनीहरूलाई पनि यहीँ तिमीसँगै पढाउने । उनीहरू यहाँ तिमीसँगै बस्न पाएनन् भने तिमी पनि नबस । घरमा गएर आफ्ना साथीसँग खेल, हाँस !'
आगमका कुराले आमिश्रा निकै खुसी भइन् । उनी उफ्रेर आगमको अँगालोमा बेरिन् र हर्षाश्रु झारनि् । उनको बायाँ आँखाबाट खसेको आँसु आगमको मुखमा पर्‍यो । त्यही दिन आमिश्राका साथी बोलाउन गएको आगम फेरि फर्केन ।
---
सात वर्ष बित्यो ।
मधेसमा आफ्नो कुनै जोर नचल्ने देखेपछि शिवशंकरले उम्मेदवारी नै फिर्ता लिएका थिए । उनले आमिश्रालाई पनि घर पठाए । संविधानसभाको चुनाव भयो । तर, संविधान बन्न सकेन । दोस्रो संविधानसभाको चुनाव गरी संविधान बनाउनका लागि जनता आन्दोलनमा उत्रिए । आन्दोलनकारी युवा नागरकि मञ्चमा गएर परविर्तनका कविता-गीत सुनाउथे, भाषण दिन्थे ।
यसैबीच, एक करबि १६ वर्षे बालक मञ्चमा गएर आमिश्राको आँसुको कथा सुनायो । ऊ आगामी चुनाव जित्ने निश्चित भएको नेताजस्तै बोलिरहेको थियो । यही बेला मञ्चमै उसको छातीमा गोली वषिर्यो । आन्दोलनकारी भागाभाग भए ।
भोलिपल्ट त्यस युवकको शवलाई नागरकिका तर्फबाट भव्य अभिनन्दन गरियो । रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि सामाजिक सञ्जाल फेसबुकमा युवककै समाचारले स्थान पायो । त्यो पार्थिव शरीर आगमको थियो । आगमको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन जनता उर्लिएर आएका थिए । 'आगमलाई सहिद घोषणा गर्, घटना छानबिन गरी हत्यारालाई कारबाही गर,' जनताले नाराबाजी गररिहेका थिए ।
आगमको शवमाथि श्रद्धाको फूल चढाउन आमिश्रा आइपुगिन् । त्यहाँ आमिश्रालाई कसैले चिनेका थिएनन् । सात वर्षअघि साथी बोलाउन गएको साथी आगमको शव, फूलैफूलले छोपिएको थियो । आमिश्राले आगमको पार्थिव शरीरलाई धेरै बेर हेर्न सकिनन् । आँखा बन्द गरेर श्रद्धाको फूल चढाइन् । र, श्रद्धाञ्जलि दिन आउनेहरूतिर आँखा दौडाइन् । जनसागर उनको आँखामा अटाएन । उनी हर्षले रोइन् । यसपालि भने बायाँ आँखाबाट खसेको आँसु उनकै मुखमा पर्‍यो ।
-ध्रुवसत्य परियार
नेपाल साप्ताहिक
अंक: ५६२
२०७० भाद्र २३
Sep 8, 2013

Saturday, March 15, 2014

शाल्मली

एकादेशमा शिलाजित नाम गरेको नौजवान थियो । उसको आत्मालाई लिन काल आयो । भन्यो, ‘तेरो मिति पुग्यो । अब तँ मसँग जानुपर्छ ।’ शिलाजित २० वर्षे जवान । त्यो कलिलो उमेरमै काल लिन आउला भनी उसले सोचेकै थिएन । कालबारे सोच्ने उसको उमेर पनि होइन । ‘अकस्मात यो नौजवानलाई लिन कसरी आइपुग्यौ ?’ शिलाजितले काललाई सोध्यो, ‘के मेरो आयु यति नै हो ? ‘तैँले आफ्नो बुढेसकाल भोग्नेसम्मको आयु लिएरै आएको थिइस् । तर, दुनियाँको दुर्भाग्य यही हो– कहिलेकाहीँ देश, काल र परिस्थितिले कुनै वीर र धर्मात्मा व्यक्तिको बलिदानी खोज्छ,’ कालले भन्यो । ‘मैले जीवनकै बलिदानी दिनुपर्ने त्यस्तो कुन काण्ड प¥यो ?’ शिलाजितले कालसँग जवाफ माग्यो । ऊ सजिलै देहत्याग गर्नेवाला थिएन । कालले भन्यो– ‘आज एउटी वृद्धाको मिति पुगेको थियो । म उनैलाई लिन आएको हुँ । तर, उनले आज बिहानै एउटा सत्कर्म गरिन् । उनलाई लैजान मेरो धर्मले दिएन । यो मानवीय संसार चल्न सबैले आ–आफ्नो कर्म गर्नैपर्छ । र, जन्मेपछि हरेकले मर्नैपर्छ, नत्र संसार चल्दैन । त्यसैले म रित्तो हात फर्कनु हुँदैन, कसैलाई लैजानैपर्छ– यही नै मेरो कर्म हो । तर, आजै आफ्नो मिति पुगेको अर्को मानिस छैन । यस्तो वेला अकालमै भए पनि कोही मसँग जानैपर्ने हुन्छ । मैले निर्णय गरेँ, सबैभन्दा पहिले जो मेरो नजरमा पर्छ, उसैलाई लैजान्छु । दुर्भाग्य, मेरो नजरमा एउटी बालिका परी । तर, तैँले बहादुरीपूर्वक त्यस बालिकालाई मेरो हातबाट खोसिस् । कसैको ज्यान बचाउनु पनि ठूलै सत्कर्म हो । तर, सत्कर्मको अर्को नाम बलिदान पनि हो । सम्झी, तैँले आफ्नो जीवन कसैका लागि बलिदानी दिएको छस्, त्यसकारण तँ मसँग जानुपर्छ ।’ त्यो वर्ष लामो खडेरीले सबैतिर अनिकाल लागेको थियो । वनमा पनि वन्यजन्तु र कन्दमूल पाउन कठिन पथ्र्यो । शिलाजित तरबार र धनुबाण बोकेर ठूलो भीर चहार्दै थियो, सिकारको खोजीमा । त्यो बाँदर लड्ने भीर । जहाँ, मानिस जान सक्छ भनी कल्पनै गर्न सकिँदैनथ्यो । त्यसैले त्यस कुमारी भीरमा केही न केही सिकार वा कन्दमूल भेटिने आशा गर्न सकिन्थ्यो । शिलाजित निकै होसियारीपूर्वक भीर चहारिरहेको थियो । उसले माथिबाट एउटी बालिका लड्दै आएको देख्यो । जति तल गयो, भीर उति नै ठाडो थियो । तल बजारिन पुगे सीधै बालिकाको ज्यान जान्थ्यो । भीरको बीचमा थोरै सम्म परेको ठाउँ पनि थियो । त्यहीँ उभिएर शिलाजितले बालिकालाई थाम्ने कोसिस ग¥यो । बालिकालाई त उसले त्यहीँ अड्यायो । तर, आफूलाई थाम्न सकेन । ऊ भीरबाट खस्यो । अरू मानिसले डोरीको सहाराले बालिकालाई उद्धार गरे । बालिकालाई कुनै गहिरो चोट लागेको थिएन । लगभग चार वर्षीया ती बालिकाले भनिन्, ‘मलाई एउटा मान्छेले भीरमा बचाए । तर, उनी खसे ।’ भीरमा विनाकुनै सहारा मान्छे जानु असम्भवजस्तै थियो । त्यहाँ आएका सबैले लख काटे– बालिकालाई मानिसले होइन, भगवान्ले बचाएको हुनुपर्छ । भीरबाट खसेर शिलाजित बेहोस भयो । त्यही वेला शिलाजितको आत्मासँग कालले संवाद गर्दै थियो । ‘शिलाजित, तँ साँच्चिकै साहसी पुरुष होस् । तैँले मेरो हातबाट पनि बालिकालाई बचाइस् । कालको मुखबाट आफू मात्रै बाँच्ने साहस र संघर्ष धेरैले गर्छन् । तर, तैँले अरूलाई बचाउने साहस गरिस्,’ कालले भन्यो, ‘तँजस्तो साहसी नौजवानले मृत्युजस्तो शाश्वत सत्यलाई स्विकार्न सक्नुपर्छ ।’ शिलाजितले केहीबेर सोचेर भन्यो, ‘मलाई मृत्यु स्वीकार छ । तर, मलाई एक वर्षको समय देऊ । एउटा काम पूरा गर्नु छ ।’ ‘के काम हो त्यस्तो ?’ कालले सोध्यो । ‘भन्ने होइन, गरेर देखाउने काम हो ।’ शिलाजितको जवाफले काल प्रभावित भयो । कुन शिखर टेक्ने रहेछ, हेरौँला– यही सोचेर कालले शिलाजितलाई एक वर्षको समय दियो । शिलाजितका बाबुआमालाई पनि कालले लगिसकेको थियो, सानैमा उसलाई टुहुरो बनाएर । यता, चार वर्षीया बालिकालाई पनि अकालमै लैजान खोज्ने ? शिलाजित कालसँग बदला लिन चाहन्थ्यो । एक वर्षपछि– शिलाजितको काम हेर्न सबैले देख्न सक्ने रूपमा काल आयो । शिलाजितले काललाई एउटा अजंगको सिमलको रूखको फेदमा लग्यो । र, आफूले एक वर्ष लगाएर गरेको कामबारे वर्णन ग¥यो । भन्यो, ‘हे कालदेव † मैले यस रूखभित्र यस्तो दरबार बनाएको छु, जसको माथिल्लो तलाबाट जो–कोहीले सांसारिक सुख, दुःख, सत्य र न्यायको बोध गर्नेछ ।’ उसले सिमलको रूखलाई फेदबाट छेडेर भित्रभित्रै नौ तला बनाएको थियो । प्रत्येक तलामा तलबाट साँचो लगाउन मिल्ने गरी ढोका पनि राखेको थियो । शिलाजितको काम हेर्न काल आतुर र उत्सुक देखिन्थ्यो । शिलाजितले काललाई अघि–अघि जान भन्यो । आफू कालको पछि लाग्यो । काल नवौँ तलामा पुगेपछि उसले ढोका बन्द गरी साँचो लगायो । त्यसैगरी, प्रत्येक ढोकामा साँचो लगाउँदै बाहिर निस्कियो । बाहिर एउटी सुन्दर युवती उभिएकी थिई । ‘को हौ तिमी ? यो निर्जन वनमा किन आयौ ?’ शिलाजितले सोध्यो । ‘मेरो नाम शाल्मली हो । पारि गरिब बस्तीमा मेरो घर छ । मेरा सबै परिवारलाई कुनै महामारीले लग्यो । म मात्रै बाँचेकी छु । सबैतिर भोकमरी लागेकाले रातमा डाँका आउने डर हुन्छ । तर, यो घनघोर वनको माझमा एक वर्षसम्म रूख काटेको एकोहोरो आवाज आइरह्यो । मानिस यहाँ भूत बस्छ भनेर डराए । रातमा चोर–डाँका हिँड्न पनि छाडे । यहाँ रूख काटेको आवाज मलाई साथी भएको थियो । तर, गएको रात अकस्मात यहाँबाट आवाज आउन बन्द भयो । केको आवाज थियो ? किन बन्द भयो ? यही जान्न आज बिहानैदेखि यहाँ लुकेर बसेकी थिएँ । यहाँ मैले सबै कुरा थाहा पाएँ । तिमीले काललाई थुन्नका लागि यो सब गरेका रहेछौ । यो सब त ठीक छ । तर, मलाई काल र भूतसँग भन्दा बढी मानिसरूपी राक्षसहरूसँग डर लाग्छ । यहाँ आवाज आउन छाडेपछि फेरि रातमा डाँकाहरू आउन सक्छन् । मलाई लुट्न सक्छन् । अब यहाँ म सुरक्षित छैन ।’ शिलाजित मुुसुक्क हाँसेर बोल्यो, ‘अब तिम्रो सुरक्षा मैले गर्छु । मसँग बिहे गर ।’ शिलाजितको प्रस्तावमा स्वीकृतिस्वरूप शाल्मलीले लजालु मुस्कान दिई । भनी, ‘मैले हजुरलाई एक वर्षअघि देखेकी थिएँ । हजुरले भीरबाट खस्दै गरेकी एउटी बालिकालाई बचाउनुभयो, आफ्नो ज्यानको माया मारेर । म साथीहरूसँग पारि वनमा कटुस खोज्दै थिएँ । साथीहरूलाई थाहै नदिई हजुरको अवस्था बुझ्न भीरको फेदीमा गएँ । चट्टानमाथि गुजुल्टिएर बसेको एउटा यमानको अजिङ्गरमाथि हजुरको शरीर थियो, रगताम्मे र बेहोस अवस्थामा । पहिले त मलाई नजिक जान डर लाग्यो । हेरिरहेँ । धेरै बेरसम्म अजिङ्गरले हजुरलाई केही गरेन । मैले साहस बटुलेर हजुरलाई तानेँ । अजिङ्गर त मरेको रहेछ । सायद हजुर बेसरी बजारिँदा त्यो अजिङ्गर मरेको हुनुपर्छ । बडो कठिनले मैले हजुरलाई बोकेर केही पर ल्याएँ । शरीरको रगत पखालिदिएँ । धेरै बेरसम्म हजुरको होस खुलेन । रात परेपछि म घर फर्कें । तर, निदाउनै सकिनँ । रातभरि हजुरका लागि प्रार्थना गरेर बिताएँ । भोलिपल्ट बिहानै हजुरको अवस्था बुझ्न गएँ । तर, त्यहाँ हजुरलाई देखिनँ । र, आजसम्म यो विश्वास गरिरहेँ– हजुरलाई केही भएको छैन ।’ शिलाजितले भन्यो, ‘शाल्मली, तिम्रो प्रेम र विश्वास निकै शक्तिशाली रहेछ । तिम्रो यस्तै प्रेम र विश्वास पाइरहेँ भने मैले संसार जित्न सक्छु ।’ ‘कुन संसार जित्न बाँकी रह्यो र ? काललाई नै जितेपछि,’ शाल्मली शिलाजितको पाउ पर्दै भनी, ‘हजुरको पुरुषार्थको सामु आज यो शाल्मली दास भएकी छे ।’ ‘दास होइन, अर्धांगिनी बनाउँछु,’ शिलाजितले शाल्मलीलाई अँगालोमा लिँदै भन्यो, ‘हृदयकी रानी बनाउँछु । म तिमीलाई संसारभरिको सुख र खुसी दिनेछु । आज यो शिलाजित तिम्रो प्रेम र विश्वाससामु झनै वीर भएको छ ।’ शिलाजितले शाल्मलीलाई बिहे ग¥यो । दुवै खुसी थिए । शाल्मलीलाई घरमा छाडेर ऊ वनमा सिकार गर्न जान्थ्यो । एक दिन शिलाजित सिकार गरेर फर्कंदा शाल्मली घरमा थिइन । शिलाजितले वरपर शाल्मलीलाई कतै भेटेन । ऊ शाल्मलीलाई खोज्दै निकै गाउँ–नगर चहा¥यो । धेरै दिनसम्म शाल्मलीलाई नभेटेपछि पागलजस्तै भयो । बेवारिसे डुल्न थाल्यो । भाङ, धतुरो, गाँजा, मदिराको नसामा दिनरात बिताउन थाल्यो । एक दिन शिलाजित एउटा भयङ्कर पहाडको फेदीमा पुग्यो । त्यहाँ एउटी वृद्धा थिइन् । भनिन्, ‘दुनियाँलाई यसको आवश्यकता छ । यो लाछी, आफैँसँग भागेर हिँडेको छ ।’ शिलाजितले वृद्धाको कुरालाई वास्तै नगरी गाँजा तान्न थाल्छ । वृद्धा भन्दै जान्छिन्– ‘उता, एउटी अबला नारीले एक वर्षदेखि दुष्ट राजासँग भोकभोकै लडिरहेकी छे, आफ्नो अस्मिता जोगाउनका लागि । एउटी कुटुनी बुढीले जाल रचेर उसलाई राजासमक्ष पु¥याई । राजाले उसलाई भोग गर्न खोज्यो । तर, उसले अस्वीकार गरी । भनी, ‘मर्द हौ भने पहिले मसँग खाली हात लड । मैले हार स्वीकार गरेपछि मात्रै मलाई भोग गर ।’ ऊ केहीबेर त्यो दुष्ट राजासँग लडेपछि बेहोस भएर ढल्छे । ब्युँझेपछि फेरि लड्छे । उसले पानी पनि खान पाएकी छैन । आज एक वर्ष बित्यो तर ऊ मरेकी छैन । हार स्वीकार पनि गरेकी छैन । उसलाई आफू नमर्नेमा विश्वास छ । उसको पतिले काललाई नै थुनेको छ रे † र, उसलाई अझ बढी यो विश्वास छ– काललाई नै थुन्न सक्ने आफ्नो पति एक दिन अवश्य आउनेछ । र, राजालाई हराएर आफूलाई फिर्ता लैजानेछ । यही विश्वासले उसमा साहस र शक्ति घटेको छैन । कैयौँपटक उसले त्यस दुष्ट राजालाई पनि बेहोस पारेकी छे । अँ, उसको नाम शाल्मली हो ।’ वृद्धाको कुरा सुनेपछि शिलाजितलाई सारा नशाले छोड्छ । अत्तालिँदै वृद्धासँग सोध्छ, ‘आमा, कहाँ छिन् मेरी शाल्मली ? कहाँ छ त्यो दुष्ट राजा ? म त्यसलाई सिध्याएर मेरी शाल्मलीलाई फिर्ता ल्याउँछु ।’ वृद्धाले भनिन्– यसरी आत्तिएर काम बन्दैन । लक्ष्यमा पनि पुगिँदैन । तँलाई देख्नेबित्तिकै मलाई यो विश्वास थियो– तँ नै शाल्मलीको पति शिलाजित होस् । तेरो आँखाले यही भन्छ । म तेरो आँखामा महान् कार्य पूरा गर्ने धैर्य र तेज देख्छु । मेरो कुरा ध्यान दिएर सुन् । यो ठूलो पहाडको पारि समथर भू–भाग आउँछ । त्यहाँ राजाको दरबार छ । त्यहीँ नै तेरी शाल्मली तेरो प्रतीक्षामा बाँचेकी छे । त्यहाँसम्म पुग्ने थुप्रै सजिला बाटा छन् । सजिलो बाटो गइस् भने तँ राजाको दास हुनुपर्छ । राजालाई हराएर शाल्मलीलाई फिर्ता ल्याउने भए तँ यो पहाडको बाटो जानुपर्छ । पहाडको बाटो सजिलो छैन । जो–कोहीले यो पहाड चढ्ने साहस गर्दैन । घना वन, हिंस्रक जनावर, भीर– यो डरलाग्दो पहाडमा खतरैखतरा छन् । एउटा तरबार लिएर जानू । (वृद्धाले आफ्नो कुटीबाट तरबार झिकिन् ।) यो तरबार तँजस्तै एक नौजवानले छाडेर गएको हो । उसले मेरो कुरा सुनेन । अहिले ऊ राजाको दास भएको छ । यो पहाड फेदीको दायाँतिर एउटा फलामको ढोका छ । त्यहाँ राजाका सिपाही बसेका छन्, अनेक हतियारसहित । उनीहरूसँग तैँले एक्लै लडेर सक्दैनस् । त्यसैले तँ बायाँतिर लाग्नू । त्यहाँ निर्वस्त्र सुन्दरीहरू छन् । तिनीहरूलाई हेर्दै नहेर्नू । तिनीहरूसँग आँखा जुधेपछि तेरो मतिभ्रष्ट हुनेछ । र, त्यहाँ तँ सुरासुन्दरीसँग भुल्नेछस् । त्यहीँ भुलिस् भने तँलाई तेरी पत्नी शाल्मलीले धिक्कार्नेछे । एउटी असल पत्नीले धिक्कारेको पुरुष धर्तीलाई भार मात्रै हुन्छ । सीधा पहाडमा हेरेर अघि बढ्नू । पहाडका प्रत्येक रूख, जरा, चट्टान र माटोमाथि विश्वास गरेर समाउनू । टेक्नू । तिनले तँलाई धोका दिनेछैनन् । तिर्खा लाग्दा तरबारले रूख काटेर पानीजस्तो चोप खानू । दूधजस्तो वा बाक्लो चोप नखानू, विष पनि हुनसक्छ । अगाडि आएको सिकार मात्रै मार्नू । दायाँ–बायाँ सिकार गरेर नभुल्नू । एकछाक खानकै लागि भुल्नेहरू लक्ष्यमा पुग्दैनन् । तँलाई शिखरमा पुग्न निकै समय लाग्न सक्छ । तर, शिखरमा पुगेपछि तेरो शरीरमा शक्ति आउनेछ । आँखा र अनुहारमा विशेष कान्ति छाउनेछ । शिखरमा राजाको सेनापति बसेको छ । त्यहाँ कसैले पनि आफूभन्दा ठूलासँग आँखा जुधाएर कुरा गर्दैनन् । तँैले प्रत्येकसँग आँखा जुधाएर कुरा गर्नू । तैँले आँखा जुधाएपछि सेनापतिले यो बुझ्नेछ– तैँले उसलाई हाँक दिँदै छस् । उसलाई यो पनि थाहा छ– त्यो शिखरमा कुनै मामुली र कमजोर व्यक्ति पुग्न सक्दैन । तँ ऊसँग तरबारले लड्नू । तेरो जित निश्चित छ । त्यसपछि सीधै राजाले दरबारमा बोलाउनेछ । त्यो राजाले मानिसको पसिना र रगत मात्रै खान्छ । राजाले तेरो पसिना र रगत खान खोज्नेछ । सीधा आँखा जुधाएर भन्नु, ‘पहिले खाली हात लडेर जित । अनि मात्र मेरो रगत–पसिना खाऊ ।’ त्यहाँ तँलाई कसैले खाली हात लडेर जित्न सक्नेछैन । त्यहाँ त उनीहरूको शक्ति भनेकै हतियार हो । त्यस राजालाई तैँले मारेर मर्दैन । किनभने, तैँले नै काललाई थुनेको छस् । त्यसैले राजालाई बेहोस बनाएर शाल्मलीलाई लिएर आउनू । वृद्धाको कुरालाई शिलाजितले कुनै राजकुमारको वीरताको कथाजस्तै सुनिरहेको हुन्छ । वृद्धा भन्दै जान्छिन्– मलाई मुटुको रोग छ । निको हुन मैले कुनै सपुतको एक मुठी आलो रगत खानुपर्छ । तैँले मलाई रगत दे, मैले तँलाईं दुध चुस्न दिन्छु । मेरो दुध चुसेर गएपछि तँ आफ्नो लक्ष्यदेखि विचलित हुनेछैनस् । शिलाजितले तरबारले आफ्नो बायाँ हातमा घाउ पारेर आमालाई रगत दिन्छ । र, आमाको दुध चुस्छ । आश्चर्य त, ती वृद्धाको छातीबाट दुध आउँछ । शिलाजितलाई कता–कता आफ्नो निर्दोष बालपन र ममतामयी आमाको सम्झना गराउँछ । उसलाई यो बोध हुन्छ– यी आमामा कुनै सत् छ । पेटभरि दुध चुसेपछि ती वृद्धा आमाको आशीर्वाद लिएर शिलाजित आफ्नो लक्ष्यमा अघि बढ्छ । शिखरमा पुग्न शिलाजितले निकै कष्ट बेहोर्नुपर्छ । त्यहाँ पुगेर राजाको सेनापतिसँग युद्ध गर्छ । सेतापतिलाई हराएर शिलाजित राजासमक्ष पुग्छ । सबै घटना वृद्धा आमाले भनेजस्तै गरी हुँदै थियो । तर, राजाले भने खाली हात लड्न मानेन । उसले सीधै शिलाजितलाई तरबारले आक्रमण ग¥यो । राजाको प्रहारले शिलाजितको पाखुरामा घाउ लाग्यो । र, रगत बग्न थाल्यो । राजाले भुइँमा बगेको शिलाजितको रगत चाट्न थाल्छ । त्यही वेला तरबार उठाएर शिलाजितले राजालाई बेहोस पार्छ । यता, धेरै दिनदेखि बेहोस शाल्मली ब्युँझन्छे । शिलाजित र शाल्मली रथ चढेर त्यहाँबाट हिँड्छन् । फलामको ढोका भएको बाटो भएर वृद्धा आमा रहेको ठाउँमा आइपुग्छन् । उनीहरूको अघि–पछि राजाका सिपाही थिए । सिपाहीहरूले दरबारबाट प्रशस्त धन–दौलत बोकेर आएका थिए । शिलाजित र शाल्मली दुवैले ती वृद्धा आमालाई साष्टाङ्ग दण्डवत गरे । वृद्धाले आशीर्वाद दिँदै भनिन्, ‘पारि हिमालको फेदीमा एउटा सुन्दर गाउँ छ । त्यस गाउँका मानिस निकै मिहिनेती छन् । उनीहरूले वर्ष दिनसम्म मिहिनेत गरेर प्रशस्त अन्न उब्जाएका छन् । उनीहरूलाई धन–दौलत दिएर अन्न लिनू । र, शाल्मलीको गाउँ जानू । त्यस गरिब गाउँका मानिसले धेरै समयदेखि अन्न खान पाएका छैनन् । नजिकै एउटा सत्खोला छ । जति खडेरी लागे पनि सत्खोला कहिल्यै सुक्दैन । त्यो हिमालदेखि बगेर आएको छ । यी सिपाहीलाई लगाएर सत्खोलाबाट गाउँमा कुलो लैजानू । सबै गाउँले मिलेर खेतीपाती गर्नू । जति फले पनि घरका मानिसअनुसार सबैले बराबर बाँड्नू । आफ्नो माटोमाथि सबैलाई बराबर हक हुन्छ । सबै कुरामा टाठाबाठाले मात्रै हक जमाउन खोजेर नै दुनियाँ झन्झन् दुःखदायी बन्दै गएको छ ।’ शिलाजितले वृद्धा आमाले भनेबमोजिम ग¥यो । वर्ष दिनमै शाल्मलीको गाउँ हराभरा भयो । गाउँमा खुसियाली छायो । त्यस गाउँको बखान दिन प्रतिदिन चारैतिर फैलियो । अन्ततः गाउँको नाम नै शाल्मली रहन पुग्यो । त्यो सुन्दर शाल्मली गाउँलाई हेर्न वृद्धा आइपुगिन् । भनिन्, ‘छोरा, तेरो पौरख देखेर म साह्रै हर्षित छु । मलाई यस्तै संसार देखेर मर्ने मन थियो, आज पूरा भयो । शान्तिको श्वास फेर्न पाएँ । मैले निकै लामो आयु बाँचेँ । अब म मर्न चाहन्छु । प्राणीले जन्मेपछि मर्नैपर्छ । यही नै संसारको थिति हो, प्रकृति हो । बेथितिले संसार चल्न सक्दैन । तैँले काललाई थुनेको छस् । हेर् त, यही गाउँका कति वृद्धवृद्धा मर्न पाऊँ भनी पुकारिरहेछन् । उनीहरूको शरीरले रोगलाई खेप्न सकिरहेको छैन । छोरा, अब तैँले काललाई छाडिदिनुपर्छ ।’ शिलाजित र शाल्मलीले एकै स्वरमा भने, ‘आमा, केही समय हामीले हजुरको सेवा गर्न चाहन्छौँ । थोरै पुण्य कमाउन चाहन्छौँ ।’ वृद्धाले मुसुक्क हाँस्दै भनिन्, ‘म मरेर कहाँ जान्छु र ? यही माटोमा त हुन्छु । यही माटो र यहीँका मानिसको सेवा गर्नू । यति ग¥यौ भने मेरो आत्मालाई शान्ति मिल्नेछ ।’ आमाको कुराले शिलाजित र शाल्मलीको चित्त बुझ्छ । उनीहरू काललाई छाडिदिन सिमलको रूख भएतिर गए । त्यहाँ कालको अस्थिपञ्जरमात्रै थियो । शिलाजितले अस्थिपञ्जरलाई बाहिर निकाल्यो । त्यही वेला आकाशवाणी भयो, ‘हे वृद्धा † मैले तिमीलाई एउटा वर दिने वाचा गरेको थिएँ । जे माग्छ्यौ, माग ।’ थुनिनुअघि कालले वृद्धालाई नै लिन आएको थियो । त्यति वेला कसैले मन्दिरमा पाएर छाडेको नाबालकलाई वृद्धाले हेरचाह गर्दै थिइन् । उनको यस्तो सत्कर्म देखेर काल वृद्धाको सामु प्रकट भयो । र, वृद्धाको छातीमा दुध आउने वरदान दियो । उसले वृद्धालाई अझै एउटा वरदान माग्न भन्यो । तर, वृद्धाले आवश्यक परेका वेला माग्ने बताएकी थिइन् । वृद्धाले आकाशतिर हेरेर भनिन्, ‘हे कालदेव † संसारका सबै मानिसलाई आफ्नो देशको माटोमाथि बराबर हक होस् । सबैले सुख–शान्तिले पूरा आयु बाँच्न पाऊन् । यही सत्य र न्यायको सधैँ जित होस् ।’ फेरि आकाशवाणी भयो, ‘शिलाजित, तँ निकै बुद्धिमान्, वीर र धर्मात्मा रहेछस् । तैँले आफूजस्तै पत्नी पनि पाएको छस् । यो रूखमा थुनिएर मैले मानिसका सुख–दुःखलाई बोध गरेँ । धर्तीमा तिमीहरूजस्ता मानिसको आवश्यकता छ । तिमीहरू सुखसयलले बाँच्नू । शिलाजित, तँ चाहन्छस् भने मैले यी आमालाई पनि केही समय आयु थपिदिन्छु ।’ शिलाजितले भन्यो, ‘हे कालदेव † अब मेरो कुनै चाहना छैन । मैले मेरा सबै चाहना तिमीलाई नै सुम्पन्छु ।’ त्यही रात वृद्धा आमा शिलाजित र शाल्मलीको काखमा बितिन् । शिलाजित र शाल्मली वृद्धवृद्धा हुँदासम्म सुखशान्तिले बाँचे । ०००