Friday, December 28, 2012

शताब्दी

–ध्रुवसत्य परियार

‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा खुबै आनन्द आउँछ । बिहेअघि मेरा उनीले मलाई देउरालीबाटै सुसेलेर डाक्थे । म एकैसासमा उनलाई भेट्न पुग्थेँ । जसरी रूखको टुप्पोमा भाले जुरेली कराँउछ, अनि तल कतैबाट खुसुक्क पोथी जुरेली त्यहाँ पुग्छे ।
देउरालीमा पुग्दा आफूलाई अझै उस्तै तरुनी ठान्छु । सेतो कपालमा रातै गुराँस फुलेको पाउँछु । मेरा उनीले छपक्कै लाली–गुराँस लगाइदिन्थे । भन्थे, तिम्रो गाला गुराँसभन्दा रातो छ । देउरालीलाई साक्षी राखेर कसम खान्थ्यौँ, ‘यो लेकमा गुरा“स फुल्दासम्म हामीले एक–अर्कालाई भुल्नेछैनौँ ।’
कति मानिसले धर्म छाडे होलान् ।  यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि उनलाई भुल्न सकेकी छैन ।’
बूढीआमैले मलाई आफ्ना अनेक अनुभव र गहिरा कुरा सुनाएकी छन् । झन्डै एक शताब्दी लामो जीवन कहानी नै सुनाएकी छन् ।
उनको प्रेम–कहानीको काखमा भने म हारेको थिएँ । भावनाको नाता नै सही, म उनको छोरा÷नातिजस्तै बन्न पुगेको थिएँ । एक किसिमले म उनको काखमा हुर्किएँ । आज १६ वर्षको भएँ ।
हालसालै बूढीआमै खसिन् । ९६ वटा हिउँद खाइन् उनले । जीवनको नियति भनौँ, ९७औँ हिउँदले भने उनैलाई खायो ।
सबैले बत्तीबज्यै भनेर चिन्थे उनलाई । उनले कपासको बत्ती कात्थिन् । मुठा–मुठा पारेर माना–पाथी अन्नसँग साट्थिन् । सेतो कपाल । सेतै विधवा पहिरन । मध्यम कद । उत्साही आवाज । गोरो उज्यालो अनुहार । भन्डैझन्डै बत्तीबज्यै बलिरहेको बत्तीजस्तै थिइन् ।
मान्छेको अनुहारमा हेरेकै भरमा उसले गल्ती गरे\नगरेको, अन्यायमा परे\नपरेको, अनि उसको नियत र संस्कार सजिलै खुट्ट्याउन सक्थिन् उनले । बत्तीबज्यैलाई गाउँका बूढापाका, केटाकेटी सबैले सम्मानपूर्वक हेर्थे । उनको उमेर–अनुभव, बोली–व्यवहारले निर्माण गरेको जुन छवि थियो, त्यस छवि–छायामा गाउँ–छिमेकका  ठूलाबडा सबै ओइलाउँथे ।
‘बाँच्दासम्म यही माटो भोग–चलन गर्ने हो । मरेपछि यही माटोमा मिल्ने हो । यो पृथ्वी ठूलो जनावरजस्तै हो । हामी उपियाँ\उडुसजस्तै हौँ । व्यर्थै  किन मान्छे उफ्रेर अरूभन्दा माथि जान खोज्छ ? अरूलाई चुसेर धेरै मोटाउन खोज्छ ? सबै मिलेर धर्तीलाई भोग–चलन गरे हुने ।'
मान्छेभित्र सत् हुन्छ । त्यो सत्ले पहिले त सबै मानिसलाई समान देख्छ । त्यो सत्ले न्याय\अन्याय खुट्ट्याउन सक्छ । मान्छेले आफ्नो सत्लाई बेच्यो भने उसले धर्म छाड्यो भनेर जान्नु ।
अर्को कुरा, मान्छेभित्र सबैभन्दा उपद्रो कुरा त माया–पिरती हुन्छ ।
माया जालमा फस्दै नफस्नु फसिहाले नभाग्नू ।
जोगी भएर हिँड्नु बरु मायाको भिख नमाग्नू ।।
यो संसारै माया–मोह त हो नि । यसबाट भागेर कहाँ जानु । माया भिख लिनेदिने वस्तु पनि होइन, किन भिख माग्नु । माया–पिरतीमा  मान्छेको जात र धन–सम्पत्ति बाधा हुनुहुँदैन ।’
केही समयअघि गाउँका जग्गा विवाद, करणी, नाजायज सम्बन्ध, प्रेम–प्रसंगजस्ता मुद्दा मिलाउने  विषयमा पञ्चका माझ बत्तीबज्यै बोलेकी थिइन् । उनी बोल्दा पञ्च मौन थियो, कुनै धर्मगुरुको प्रवचन सुनेजस्तै ।  जहाँसुकै उनी बोल्दा कसैले खोकिहाले पनि उसले गल्ती गरेको महसुस गथ्र्यो । यही नै उनीप्रतिको सम्मान थियो । पञ्च बस्दा बत्तीबज्यैले विवादका विषयमा आफ्ना केही कुरा राख्थिन् । अनि एउटा निर्णय दिन्थिन् र तत्कालै हिँडिहाल्थिन् ।
पञ्चले आफ्नो कुरा मानोस्\नमानोस्, ध्यान दिन्नथिइन् । अन्ततः पञ्चमा उनकै निर्णय मान्य हुन्थ्यो ।
०००
उनकै अनुसार उनी यस गाउँमा तीस वर्षअघि आएकी हुन्, आफ्ना पतिसँग ।  आउँदा केही तोला सुन र पेन्सन–पट्टा लिएर आएका थिए । उनका पति बेलायत सरकारको भूतपूर्व सैनिक थिए । आएकै साल उनका पति खसे, त्यस्तै ६५ वर्षको उमेरमा । उनका पति उनीभन्दा झन्डै चार वर्ष जेठा थिए ।
यहाँ आएर यो दम्पतीले यति मात्रै बताएको थियो, ‘हाम्रँे घर पूर्वमा पर्छ । हाम्रँ छोरा\नाति सहर–बजारतिर लागे, गाउँ–ठाउँमा रहर गरेनन् । हाम्रँे घरबारी पनि पहिरोले लग्यो । खै कुन भाग्यले हो, हामी बूढाबूढी भने बाँच्यौँ । त्यसपछि विरक्तिएर हिँडेका हामी यहाँ आइपुग्यौँ । किन–किन यस गाउँसँग हाम्रो कुनै पुरानो नाता भएझैँ लाग्यो । हामी यहाँ घरजम गरी बस्न चाहन्छौँ ।’
यहाँको समाजले यी वृद्धावृद्धलाई आश्रय दियो । राम्रै घरजम गरी बस्न थाले ।
मेरा बाले बत्तीबज्यैको गारो–सारो काम गरिदिन्थे— जोत्ने–खन्ने, घर–गोठ मर्मत गर्ने, कपडा सिलाउने यस्तै–यस्तै । मेरी आमाले मेलापातको काममा सघाउँथिन् । गाउँ–घरमा तल्लो जात र निम्न वर्गले ठूला–बडालाई सघाएरै जीविका चलाउने त हुन् । जेहोस्, हाम्रो परिवारलाई बत्तीबज्यैले विशेष माया गर्थिन् । यसै सिलसिलामा म पनि बत्तीबज्यैको प्रिय–पात्र बन्न पुगेँ । उनले मलाई कान्छा भनेर बोलाउँथिन् । बत्तीबज्यै र हाम्रो घर वारिपारि थियो, बीचमा एउटा खोल्सो । उनले आफ्नो घरबाट कान्छा भनेर बोलाएको मैले मेरो घरमा लगभग सुन्थेँ । उनले बोलाइन् र मैले सुनेँ, उनको आवाज खोल्सातिरै प्रतिध्वनित भइरहेकै बेला म उनको घरमा पुग्थेँ सायद ।
उनी मलाई मीठो–मीठो खान दिन्थिन् । कहिलेकाहीँ खुद्रा काम अह्राउ“थिन् । कति धारिलो माया गर्थिन् उनले मलाई । मैले कतै सानो बिराम गरेको कसैले सुनायो भने पनि उनले मलाई डाक्थिन् । सबै जानीजानी पनि म उनको घरमा जान्थेँ । पहिले पेटभरि खान दिन्थिन् । अनि, बिरामको कुरा उठाएर सानो लौरीले मेरो पिँडौलामा माया र रिस खन्याउँथिन् । उनले नबोलाईकन म उनको घरमा जान्नँथेँ । दुई\चार दिनसम्म पनि बोलाइनन् भने मैले जानीजानी बिराम गर्थें । कतिको खुर्सानी बारीको बार, जिम्मावालहरूको कुलो भत्काइदिन्थेँ । ताकि उनले मलाई बोलाऊन् ।
उनले मलाई त्यति धेरै माया गरेको रहस्य जब थाहा पाएँ, नबोलाईकनै म उनको घरमा जाने भएँ ।
उनले एकदिन रहस्य खोलिन्—
म यही गाउँकी जिम्मावाल खान्दानकी छोरी हुँ । नौ वर्षकी हुँदा मुखिया खान्दानमा मेरो बिहे भएको थियो । बिहेपछि पनि म माइतीमै बस्थेँ । मेरा पति संस्कृत पढ्न नेपाल (अहिलेको काठमाडांै) वा बनारस यस्तै कता गएका थिए । मैले मेरा पतिलाई राम्रोसँग चिनेकी पनि थिइनँ । उनीप्रति मेरो माया पलाउन पाएकै थिएन । म तरुनी हुँदै गएँ । बरु मेरो मनमा अरू कसैको माया पलायो, उनी तल्लो जातका थिए । म सत्र\अठार पुगेपछि हामी भाग्यौँ, कलिलो माया हुर्काउन लाग्यौँ ।
तल्लो जातको भएर मुखिया–जिम्मावाल खान्दानमा हात हाल्नु, वा मेरा उनीले मलाई भगाउनु, बघिनीको मुखबाट डमरु छटाउनुजस्तै थियो । त्यसका लागि बाघै हुनुपथ्र्यो, उनी भए । बाघले सिकार लिएर जसरी आफ्नो गन्तव्यतिर भाग्छ, उसरी नै हामी भाग्दै–भाग्दै नेपाल खाल्डोदेखि धेरै पूर्व पुग्यौँ । एक रात एउटा ठाँटीमा बास बसेका थियौँ । राति हामीलाई बाघले आक्रमण ग¥यो । मेरा उनीले खुकुरीको भरमा बाघ मारे । त्यो घाइते बाघ नरभक्षी रहेछ । त्यसले त्यहाँका मुखियाको सन्तानलाई पनि खाएको रहेछ । मुखियाले त्यो बाघ मार्नेलाई केही जमिन दिने घोषणा गरेका रहेछन् । हल्ला–खल्लापछि हामीलाई राति नै मुखियाकहाँ पु¥याइयो । हामीले साँचो–साँचो बतायौँ । मुखिया ठूलो दिलका रहेछन् । हामीलाई पानी चल्ने जात बनाए । सत्य र माया–पिरती ईश्वरकै शक्ति भएर हो कि, हामी जीवनभरको दुःखबाट मुक्त भयौँ । सोच्थेँ,  राजाले नै ‘सबैलाई पानी चल्ने जात’ घोषणा किन नगरेका होलान् ? यसो गर्दा कति धेरै मान्छे ठूलो दुःखबाट सजिलै मुक्त हुन्थे । हुनत, राजालाई यी मान्छेको दुःख थाहै छैन होला, कसले भनेर थाहा होवोस् । कहिलेकाहीँ त मलाई यस्तै आवाज लिएर राजाकहाँ जाने मन हुन्थ्यो ।
पछि, मेरा उनी लाहुरे भए । पेन्सन आए । हाम्रा छोरा\नाति सहर–बजार बस्ने, विदेश पढ्ने भए ।
एकदिन आफ्ना सन्तानलाई हाम्रो कथा सुनायौँ, तर आफूहरू तल्लो जातको शाखा–सन्तान भएको उनीहरूले मन पराएनन् । बिस्तारै हाम्रा सन्तानले हामीलाई नै मन पराउन छाडे । त्यसपछि हामी विरक्तिएर हिँड्यौँ । आफ्नै गाउँ फर्कियौँ । यहाँ हामीलाई कसैले चिनेनन् । आफू जन्मेको, हुर्केको, खेलेको, माया–पिरती भएको ठाउँमै आज यो बुढेसकाल बाँच्न पाउँदा आफूलाई सौभाग्यवती ठानेकी छु ।
कान्छा ! तैँले मेरा उनीलाई त देखिनस् । उनी बितेको पनि आज त्यस्तै तीस वर्ष भयो । नाताले मेरा उनी तेरा हजुरबा पर्छन् ।
कहिलेकाहीँ आफ्ना पतिको कुरा गर्दागर्दै बत्तीबज्यैले रहस्यमयी आँसु झार्थिन्, म त्यो आँसुसँगै गल्थेँ । कहिलेकाहीँ खै कुन सुख सम्झेर हो, उस्तै रहस्यमयी हाँसो हाँस्थिन्, म त्यो हाँसोसँगै बल्थेँ ।
बत्तीबज्यैले आफ्नो कथा सारा गाउँलेलाई सुनाएर मात्र मर्छु भनेकी थिइन् । तर, हिउँदको झरीले हठात् उनी खसिन् । अब उनको कथा म दुनियाँलाई सुनाउँदै हिँड्नेछु ।
०००
म चौध वर्षकी हुँदा यो कथा मलाई कान्छाले नै सुनाएको थियो । कथा सुनाएकै रात कान्छा गाउँ छाडेर गयो । अझै फर्केको छैन ।
सानोमा मलाई सबैले कान्छीमैयाँ भन्थे, कान्छाले पनि यही भन्थ्यो । एउटै स्कुलमा पढ्ने, एउटै गाउँले थियौँ हामी । बत्तीबज्यैको घरमा पनि हाम्रो भेट भइरहन्थ्यो ।
एकदिन गुराँस टिप्न जाँदा कान्छा रूखबाट लड्यो । भुइँमा लडेपछि उठ्नै सकेन । म डाँको छोडेर रोएँ । गाउँले आएर खै के–के गरे । दुई\चार दिनमै कान्छालाई सञ्चो भयो । कान्छा लड्दा म रोएको कुरा बत्तीबज्यैले थाहा पाइछन् । उनले हामी दुवैलाई बोलाएर जिस्काउन थालिन् । मैले लजाउँदै कान्छालाई नियालेँ । बत्तीबज्यैको सामु आफू कम लजाएकामा बल्ल लाज लाग्यो, कान्छा त भुतुक्कै भएको थियो ।
एक दिन मैले कान्छालाई सोधेकी थिएँ, ‘तिमीले किन जिम्मावालहरूको कुलो भत्कायौ ?’
‘यो भत्काएपछि घरमा बोलाएर मलाई बत्तीबज्यैले गाली गर्नुहुन्छ, उहाँले नबोलाएको धेरै दिन भयो ।’
कान्छाको कुरा मैले बत्तीबज्यैलाई सुनाएँ । उनले यति मात्र भनिन्, ‘म मरेपछि त्यसलाई कसले बोलाउँछ ।’
आज दस वर्ष बित्यो । म चौबीस वर्षकी भएँ । सहरबाट ग्राजुएसन सकेपछि गाउँकै विद्यालयमा पढाउन थालेकी छु । घरमा मेरो बिहेको कुरा चलेको छ ।
बत्तीबज्यैको प्रेम र वैवाहिक जीवन सम्झन्छु । उनले बाँचेको झन्डै एक शताब्दीको अवधिमा संसारभरि नै रंगभेद, जातीय विभेद-छुवाछुत उन्मूलनका लागि धेरै प्रयास भए, अझै जारी छ ।
आज कान्छा कहाँ होला ? यो दश वर्षमा देशमा ठूलो राजनीतिक परिवर्तन भयो । कैयौँ सहिद भए । डर लाग्छ, कतै कान्छा पनि... । हिजो खुर्सानीको बार र जिम्मावालहरूको कुलो भत्काउँदै हिँड्ने कान्छा, आज समाजका कुरीति, विकृति, विसंगतिलाई भत्काउँदै हिँडेको होला कि ! मानवीय प्रेम बाँड्दै हिँडेको होला वा मानव धर्म छाडेको होला !
जेहोस्, अझै यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि कान्छालाई भुल्न सकेकी छैन ।
०००

1 comment:

  1. wonderful story with different way of presentation.

    ReplyDelete