Friday, November 21, 2014

सहिदकी छोरी


बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ । हल्लाले चारभञ्ज्याङ खायो । निर्झरी २९ वर्षीया एकल महिला हुन् । उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो । देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो । यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ । किनभने, वस्तु र वास्तविकता कतै पर छ । सुरुसुरुमा निर्झरी काम्दै बर्बराउन थालिन् । गाउँलेले उनलाई बोक्सी भने । घर-परविारले यातना दियो । तर, उनको बेलाबेला काम्ने र बर्बराउने कार्य निरन्तर नै रह्यो ।
एक दिन उनलाई ठूलाघरे जिम्मावालको मृतात्मा उत्रियो । जिम्मावाल खसेको त्यस्तै आठ-दस वर्ष मात्रै भएको थियो । जिम्मावालका छोरा-नाति गाउँको सारा सम्पत्ति बेचेर सहर पस्ने तरखर गर्दै थिए । गाउँ छाड्नु केही दिनअघि उनीहरूले गाउँलेलाई भोज खुवाए । भोज खाँदाखाँदै निर्झरीलाई पितृ उत्रियो : 'म ठूलाघरे जिम्मावाल हुँ । आफ्ना सन्तानदेखि म खुसी नै छु । सबैले उन्नति गरेकै छन् । तर, थातथलोलाई यसरी चटक्कै छाडेर जान नहुने थियो । ठीक छ, तिमीहरूको खुसी गर ! शाखा-सन्तानको खुसी नै पितृको खुसी हो । जानुअघि हाम्रा नाममा बर-पीपलको चौतारी बनाएर जानू, हाम्रो आत्मा बिसाउने स्थान होस् । अँ, मैले धेरथोर जालझेल गरी दीनदुःखीका जग्गा-जमिन खाएको थिएँ । उनीहरूलाई नै हकदाबी गर्न लगाएर फिर्ता दिनू । माथि कालिकाको मन्दिरमा पित्तलको मूर्ति छ । त्यहाँको सुनको मूर्ति मैले ल्याएको थिएँ । त्यसलाई तिमीहरूले सहर लगेर बेच्ने कुरा गर्दै छौ । त्यसो नगर ! त्यस मूर्तिलाई कालिकाको मन्दिरमै पुनःस्थापना गर्नू । यति गर्‍यौ भने मेरो आत्माले शान्ति पाउनेछ ।' यसपछि निर्झरीको घरमा पितृ बोलाउन आउनेको घुइँचो लाग्न थाल्यो ।
---
यता, पालुवाटारका शिवशंकर पहाडी चुनाव लड्ने भए । उनका पिता रामभक्त पहाडी प्रधानपञ्च थिए । त्यसैले पनि ०४६ सालको परिवर्तनदेखि नै जिल्ला, क्षेत्रमा शिवशंकरको उत्पातै नेतागिरी चल्छ । शिवशंकर पहाडीको व्यक्तित्व पहाडजस्तै छ । अग्लो कद । लामो कपाल, लामै दाह्री-जुंगा (पहिले कालो, अहिले सेतो) । सानोतिनो सभा/भेलाका लागि माइक नै नचाहिने ठूलो आवाज । साम, दाम, दण्ड, भेदको खेल बुझेका । एक प्रकारले उनी राजसी ठाँटका देखिन्छन् । आफ्नो जिल्ला, क्षेत्र हुँदै सिंहदरबारसम्म छिरेर टेबल ठटाएपछि सानोतिनो बजेट-कार्यक्रम उनको क्षेत्र-पोल्टोमा पुग्नैपर्छ ।
दुर्भाग्य भनौँ, उनको पदीय हैसियत गाविस अध्यक्षभन्दा माथि छैन । सांसदका लागि उम्मेदवार हुन पनि पाएका थिएनन् । सांसद बन्ने रहरमा उनले थुप्रै सम्पत्ति सिध्याए । बाबुको देहान्तपछि आमा बिरामी परिन् । नेपाली र भारतीय डाक्टरसम्मले रोग पत्ता नलगाईकनै आमाको पनि निधन भयो, ९० वर्षको उमेरमा । आमालाई सांसद भएर देखाउने उनको रहर अधुरै रह्यो ।
विगत १२ वर्षदेखि शिवशंकर बढी नै धार्मिक भएका छन् । मातापिताको चिरशान्तिका लागि उनी हरेक बिहान पूजापाठ गर्छन् । ०६४ सालको संविधानसभा चुनावका लागि पार्टीले शिवशंकरलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर, उनले मधेसबाट चुनाव लड्नुपथ्र्यो । पहाडीले मधेसबाट चुनाव जित्नु चानचुने कुरा थिएन । पछिल्लो समय मधेसमा एकसे एक स्थानीय नेताको प्रभाव बढ्दो थियो । मधेसी जनताले पनि पहाडी नेताबाट आफूहरूको परविर्तन नहुने बुझेका थिए ।
शिवशंकर पहाडीलाई चिन्ता पर्‍यो, चुनाव कसरी जित्ने?
उनकी श्रीमती पार्वतीदेवीले युक्ति दिइन्, 'हामीले पनि पितृ बोलाएर बुझौँ, उहाँहरूको आत्मालाई कस्तो छ? अनि, यो चुनाव लड्नु उचित छ/छैन? शुभकार्यमा पितृलाई सम्झनु रामै्र हुन्छ ।' 'कुरा ठीकै हो ।' शिवशंकर पितृ बोलाउन बेचयनपुर पुगे । उनले पहिले आमाको आत्मालाई बोलाउने निर्णय गरे ।
निर्झरीलाई पितृ उत्रियो, 'छोरा ! तैंले हाम्रो आत्मशान्तिका लागि पूजापाठ गर्दै आएको छस् । म तँदेखि खुसी नै छु । आफ्नो थातथलोमा बाटो-घाटो, बिजुली ल्याएको छस् । स्कुल-क्याम्पस खोलेर गाउँको विकास गरेको छस् । सबै राम्रै गरेको छस् । तर, गाउँका कति गरबि, भूमिहीन जनतालाई तैंले गरेको विकास कागलाई पाकेको बेल बनेको छ । उनीहरूलाई बाँच्न झनै कठिन भएको छ । उनीहरूले बोक्ने भारी पनि गाडीले खोसेको छ । उनीहरूले गर्ने काम मेसिनले गर्न थालेको छ । घरदैलोको स्कुल-क्याम्पस पनि उनीहरूलाई बिरानो बनेको छ । अब तैंले चुनाव जितेर ती दीनदुःखी जनतालाई पनि उन्नति पथमा हिँडाउनुपर्छ ।'
'आमा, मैले कसरी चुनाव जित्न सक्छु?'
निर्झरीको जवाफ आयो, 'पारि दुःखीनगरमा एउटी आमिश्रा नाम गरेकी कन्या छे । त्यस कन्याको बायाँ आँखाबाट झरेको हर्षाश्रु पिउनू, तैँले अवश्य चुनाव जित्नेछस् ।'
---
आमिश्रा सहिद परिवारकी छोरी रहिछन् । पिता सहिद भएपछि उनको परिवार ठूलो दुःखमा परेको रहेछ । शिवशंकरले त्यो सहिद परिवारलाई सहयोग गरे । आमिश्रालाई छात्रावासमा राखेर पढाउने व्यवस्था मिलाए । आमिश्राको रेखदेखका लागि एउटी महिला खटाएका थिए । ती महिलालाई गोप्य निर्देशन थियो, आमिश्राको हर्षाश्रु कुनै भाँडामा संकलन गर्नू ।
आमिश्राले धेरैपटक आँसु खसाइन् । देशको अवस्था पनि जनता रुवाउने नै थियो । आमिश्राले हर्ष या विस्मात् कुन अवस्थामा आँसु झारनि् भन्ने ती सुसारेले खुट्याउन सकिनन् । अर्कोतिर, आमिश्राको प्रत्येक आँसु विपक्षी उम्मेदवारलाई बेच्न एउटा गिरोह नै लागेको थियो । धेरै दिन बित्यो । शिवशंकरले आमिश्राको हर्षाश्रु पिउन पाएनन् । उनले शंका गरे । त्यसपछि आमिश्राकी सुसारे महिलालाई नै हटाए । र, नौवर्षे आगम नाम गरेको एक बालकलाई खटाए ।
आगम टुहुरो थियो, सहरको सडकबालक । ऊ कहाँबाट सडकमा आइपुग्यो, उसैलाई थाहा थिएन । तर, शिवशंकरलाई थाहा थियो, कुनै पनि काम दीनदुःखी वा असहायले इमानदारीपूर्वक गर्छन् । शिवशंकरले उसलाई सडकबाट उठाएर आगम नाम दिए । गाँस-बास दिए । काम पनि दिए । उसको काम आमिश्रासँगै खेल्नु, आमिश्रा खुसीले रोएका बेला आँसु संकलन गर्नु ।
आगम र आमिश्रा सँगै खेल्थे । आगम आमिश्राभन्दा थोरै जेठो थियो । एक दिन आगमले सोध्यो, 'आमिश्रा, के गर्दा तिमी धेरै खुसी हुन्छ्यौ?'
'गाउँमा मेरा धेरै साथी छन् । तिनीहरू स्कुल पढ्दैनन् । तिनीहरूसँग खेल्न, पढ्न पाएदेखि म कत्ति खुसी हुन्थेँ,' आमिश्राले भनिन् ।
'म तिम्रा साथीहरूलाई बोलाउन जान्छु । उनीहरूलाई पनि यहीँ तिमीसँगै पढाउने । उनीहरू यहाँ तिमीसँगै बस्न पाएनन् भने तिमी पनि नबस । घरमा गएर आफ्ना साथीसँग खेल, हाँस !'
आगमका कुराले आमिश्रा निकै खुसी भइन् । उनी उफ्रेर आगमको अँगालोमा बेरिन् र हर्षाश्रु झारनि् । उनको बायाँ आँखाबाट खसेको आँसु आगमको मुखमा पर्‍यो । त्यही दिन आमिश्राका साथी बोलाउन गएको आगम फेरि फर्केन ।
---
सात वर्ष बित्यो ।
मधेसमा आफ्नो कुनै जोर नचल्ने देखेपछि शिवशंकरले उम्मेदवारी नै फिर्ता लिएका थिए । उनले आमिश्रालाई पनि घर पठाए । संविधानसभाको चुनाव भयो । तर, संविधान बन्न सकेन । दोस्रो संविधानसभाको चुनाव गरी संविधान बनाउनका लागि जनता आन्दोलनमा उत्रिए । आन्दोलनकारी युवा नागरकि मञ्चमा गएर परविर्तनका कविता-गीत सुनाउथे, भाषण दिन्थे ।
यसैबीच, एक करबि १६ वर्षे बालक मञ्चमा गएर आमिश्राको आँसुको कथा सुनायो । ऊ आगामी चुनाव जित्ने निश्चित भएको नेताजस्तै बोलिरहेको थियो । यही बेला मञ्चमै उसको छातीमा गोली वषिर्यो । आन्दोलनकारी भागाभाग भए ।
भोलिपल्ट त्यस युवकको शवलाई नागरकिका तर्फबाट भव्य अभिनन्दन गरियो । रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि सामाजिक सञ्जाल फेसबुकमा युवककै समाचारले स्थान पायो । त्यो पार्थिव शरीर आगमको थियो । आगमको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन जनता उर्लिएर आएका थिए । 'आगमलाई सहिद घोषणा गर्, घटना छानबिन गरी हत्यारालाई कारबाही गर,' जनताले नाराबाजी गररिहेका थिए ।
आगमको शवमाथि श्रद्धाको फूल चढाउन आमिश्रा आइपुगिन् । त्यहाँ आमिश्रालाई कसैले चिनेका थिएनन् । सात वर्षअघि साथी बोलाउन गएको साथी आगमको शव, फूलैफूलले छोपिएको थियो । आमिश्राले आगमको पार्थिव शरीरलाई धेरै बेर हेर्न सकिनन् । आँखा बन्द गरेर श्रद्धाको फूल चढाइन् । र, श्रद्धाञ्जलि दिन आउनेहरूतिर आँखा दौडाइन् । जनसागर उनको आँखामा अटाएन । उनी हर्षले रोइन् । यसपालि भने बायाँ आँखाबाट खसेको आँसु उनकै मुखमा पर्‍यो ।
-ध्रुवसत्य परियार
नेपाल साप्ताहिक
अंक: ५६२
२०७० भाद्र २३
Sep 8, 2013

Saturday, March 15, 2014

शाल्मली

एकादेशमा शिलाजित नाम गरेको नौजवान थियो । उसको आत्मालाई लिन काल आयो । भन्यो, ‘तेरो मिति पुग्यो । अब तँ मसँग जानुपर्छ ।’ शिलाजित २० वर्षे जवान । त्यो कलिलो उमेरमै काल लिन आउला भनी उसले सोचेकै थिएन । कालबारे सोच्ने उसको उमेर पनि होइन । ‘अकस्मात यो नौजवानलाई लिन कसरी आइपुग्यौ ?’ शिलाजितले काललाई सोध्यो, ‘के मेरो आयु यति नै हो ? ‘तैँले आफ्नो बुढेसकाल भोग्नेसम्मको आयु लिएरै आएको थिइस् । तर, दुनियाँको दुर्भाग्य यही हो– कहिलेकाहीँ देश, काल र परिस्थितिले कुनै वीर र धर्मात्मा व्यक्तिको बलिदानी खोज्छ,’ कालले भन्यो । ‘मैले जीवनकै बलिदानी दिनुपर्ने त्यस्तो कुन काण्ड प¥यो ?’ शिलाजितले कालसँग जवाफ माग्यो । ऊ सजिलै देहत्याग गर्नेवाला थिएन । कालले भन्यो– ‘आज एउटी वृद्धाको मिति पुगेको थियो । म उनैलाई लिन आएको हुँ । तर, उनले आज बिहानै एउटा सत्कर्म गरिन् । उनलाई लैजान मेरो धर्मले दिएन । यो मानवीय संसार चल्न सबैले आ–आफ्नो कर्म गर्नैपर्छ । र, जन्मेपछि हरेकले मर्नैपर्छ, नत्र संसार चल्दैन । त्यसैले म रित्तो हात फर्कनु हुँदैन, कसैलाई लैजानैपर्छ– यही नै मेरो कर्म हो । तर, आजै आफ्नो मिति पुगेको अर्को मानिस छैन । यस्तो वेला अकालमै भए पनि कोही मसँग जानैपर्ने हुन्छ । मैले निर्णय गरेँ, सबैभन्दा पहिले जो मेरो नजरमा पर्छ, उसैलाई लैजान्छु । दुर्भाग्य, मेरो नजरमा एउटी बालिका परी । तर, तैँले बहादुरीपूर्वक त्यस बालिकालाई मेरो हातबाट खोसिस् । कसैको ज्यान बचाउनु पनि ठूलै सत्कर्म हो । तर, सत्कर्मको अर्को नाम बलिदान पनि हो । सम्झी, तैँले आफ्नो जीवन कसैका लागि बलिदानी दिएको छस्, त्यसकारण तँ मसँग जानुपर्छ ।’ त्यो वर्ष लामो खडेरीले सबैतिर अनिकाल लागेको थियो । वनमा पनि वन्यजन्तु र कन्दमूल पाउन कठिन पथ्र्यो । शिलाजित तरबार र धनुबाण बोकेर ठूलो भीर चहार्दै थियो, सिकारको खोजीमा । त्यो बाँदर लड्ने भीर । जहाँ, मानिस जान सक्छ भनी कल्पनै गर्न सकिँदैनथ्यो । त्यसैले त्यस कुमारी भीरमा केही न केही सिकार वा कन्दमूल भेटिने आशा गर्न सकिन्थ्यो । शिलाजित निकै होसियारीपूर्वक भीर चहारिरहेको थियो । उसले माथिबाट एउटी बालिका लड्दै आएको देख्यो । जति तल गयो, भीर उति नै ठाडो थियो । तल बजारिन पुगे सीधै बालिकाको ज्यान जान्थ्यो । भीरको बीचमा थोरै सम्म परेको ठाउँ पनि थियो । त्यहीँ उभिएर शिलाजितले बालिकालाई थाम्ने कोसिस ग¥यो । बालिकालाई त उसले त्यहीँ अड्यायो । तर, आफूलाई थाम्न सकेन । ऊ भीरबाट खस्यो । अरू मानिसले डोरीको सहाराले बालिकालाई उद्धार गरे । बालिकालाई कुनै गहिरो चोट लागेको थिएन । लगभग चार वर्षीया ती बालिकाले भनिन्, ‘मलाई एउटा मान्छेले भीरमा बचाए । तर, उनी खसे ।’ भीरमा विनाकुनै सहारा मान्छे जानु असम्भवजस्तै थियो । त्यहाँ आएका सबैले लख काटे– बालिकालाई मानिसले होइन, भगवान्ले बचाएको हुनुपर्छ । भीरबाट खसेर शिलाजित बेहोस भयो । त्यही वेला शिलाजितको आत्मासँग कालले संवाद गर्दै थियो । ‘शिलाजित, तँ साँच्चिकै साहसी पुरुष होस् । तैँले मेरो हातबाट पनि बालिकालाई बचाइस् । कालको मुखबाट आफू मात्रै बाँच्ने साहस र संघर्ष धेरैले गर्छन् । तर, तैँले अरूलाई बचाउने साहस गरिस्,’ कालले भन्यो, ‘तँजस्तो साहसी नौजवानले मृत्युजस्तो शाश्वत सत्यलाई स्विकार्न सक्नुपर्छ ।’ शिलाजितले केहीबेर सोचेर भन्यो, ‘मलाई मृत्यु स्वीकार छ । तर, मलाई एक वर्षको समय देऊ । एउटा काम पूरा गर्नु छ ।’ ‘के काम हो त्यस्तो ?’ कालले सोध्यो । ‘भन्ने होइन, गरेर देखाउने काम हो ।’ शिलाजितको जवाफले काल प्रभावित भयो । कुन शिखर टेक्ने रहेछ, हेरौँला– यही सोचेर कालले शिलाजितलाई एक वर्षको समय दियो । शिलाजितका बाबुआमालाई पनि कालले लगिसकेको थियो, सानैमा उसलाई टुहुरो बनाएर । यता, चार वर्षीया बालिकालाई पनि अकालमै लैजान खोज्ने ? शिलाजित कालसँग बदला लिन चाहन्थ्यो । एक वर्षपछि– शिलाजितको काम हेर्न सबैले देख्न सक्ने रूपमा काल आयो । शिलाजितले काललाई एउटा अजंगको सिमलको रूखको फेदमा लग्यो । र, आफूले एक वर्ष लगाएर गरेको कामबारे वर्णन ग¥यो । भन्यो, ‘हे कालदेव † मैले यस रूखभित्र यस्तो दरबार बनाएको छु, जसको माथिल्लो तलाबाट जो–कोहीले सांसारिक सुख, दुःख, सत्य र न्यायको बोध गर्नेछ ।’ उसले सिमलको रूखलाई फेदबाट छेडेर भित्रभित्रै नौ तला बनाएको थियो । प्रत्येक तलामा तलबाट साँचो लगाउन मिल्ने गरी ढोका पनि राखेको थियो । शिलाजितको काम हेर्न काल आतुर र उत्सुक देखिन्थ्यो । शिलाजितले काललाई अघि–अघि जान भन्यो । आफू कालको पछि लाग्यो । काल नवौँ तलामा पुगेपछि उसले ढोका बन्द गरी साँचो लगायो । त्यसैगरी, प्रत्येक ढोकामा साँचो लगाउँदै बाहिर निस्कियो । बाहिर एउटी सुन्दर युवती उभिएकी थिई । ‘को हौ तिमी ? यो निर्जन वनमा किन आयौ ?’ शिलाजितले सोध्यो । ‘मेरो नाम शाल्मली हो । पारि गरिब बस्तीमा मेरो घर छ । मेरा सबै परिवारलाई कुनै महामारीले लग्यो । म मात्रै बाँचेकी छु । सबैतिर भोकमरी लागेकाले रातमा डाँका आउने डर हुन्छ । तर, यो घनघोर वनको माझमा एक वर्षसम्म रूख काटेको एकोहोरो आवाज आइरह्यो । मानिस यहाँ भूत बस्छ भनेर डराए । रातमा चोर–डाँका हिँड्न पनि छाडे । यहाँ रूख काटेको आवाज मलाई साथी भएको थियो । तर, गएको रात अकस्मात यहाँबाट आवाज आउन बन्द भयो । केको आवाज थियो ? किन बन्द भयो ? यही जान्न आज बिहानैदेखि यहाँ लुकेर बसेकी थिएँ । यहाँ मैले सबै कुरा थाहा पाएँ । तिमीले काललाई थुन्नका लागि यो सब गरेका रहेछौ । यो सब त ठीक छ । तर, मलाई काल र भूतसँग भन्दा बढी मानिसरूपी राक्षसहरूसँग डर लाग्छ । यहाँ आवाज आउन छाडेपछि फेरि रातमा डाँकाहरू आउन सक्छन् । मलाई लुट्न सक्छन् । अब यहाँ म सुरक्षित छैन ।’ शिलाजित मुुसुक्क हाँसेर बोल्यो, ‘अब तिम्रो सुरक्षा मैले गर्छु । मसँग बिहे गर ।’ शिलाजितको प्रस्तावमा स्वीकृतिस्वरूप शाल्मलीले लजालु मुस्कान दिई । भनी, ‘मैले हजुरलाई एक वर्षअघि देखेकी थिएँ । हजुरले भीरबाट खस्दै गरेकी एउटी बालिकालाई बचाउनुभयो, आफ्नो ज्यानको माया मारेर । म साथीहरूसँग पारि वनमा कटुस खोज्दै थिएँ । साथीहरूलाई थाहै नदिई हजुरको अवस्था बुझ्न भीरको फेदीमा गएँ । चट्टानमाथि गुजुल्टिएर बसेको एउटा यमानको अजिङ्गरमाथि हजुरको शरीर थियो, रगताम्मे र बेहोस अवस्थामा । पहिले त मलाई नजिक जान डर लाग्यो । हेरिरहेँ । धेरै बेरसम्म अजिङ्गरले हजुरलाई केही गरेन । मैले साहस बटुलेर हजुरलाई तानेँ । अजिङ्गर त मरेको रहेछ । सायद हजुर बेसरी बजारिँदा त्यो अजिङ्गर मरेको हुनुपर्छ । बडो कठिनले मैले हजुरलाई बोकेर केही पर ल्याएँ । शरीरको रगत पखालिदिएँ । धेरै बेरसम्म हजुरको होस खुलेन । रात परेपछि म घर फर्कें । तर, निदाउनै सकिनँ । रातभरि हजुरका लागि प्रार्थना गरेर बिताएँ । भोलिपल्ट बिहानै हजुरको अवस्था बुझ्न गएँ । तर, त्यहाँ हजुरलाई देखिनँ । र, आजसम्म यो विश्वास गरिरहेँ– हजुरलाई केही भएको छैन ।’ शिलाजितले भन्यो, ‘शाल्मली, तिम्रो प्रेम र विश्वास निकै शक्तिशाली रहेछ । तिम्रो यस्तै प्रेम र विश्वास पाइरहेँ भने मैले संसार जित्न सक्छु ।’ ‘कुन संसार जित्न बाँकी रह्यो र ? काललाई नै जितेपछि,’ शाल्मली शिलाजितको पाउ पर्दै भनी, ‘हजुरको पुरुषार्थको सामु आज यो शाल्मली दास भएकी छे ।’ ‘दास होइन, अर्धांगिनी बनाउँछु,’ शिलाजितले शाल्मलीलाई अँगालोमा लिँदै भन्यो, ‘हृदयकी रानी बनाउँछु । म तिमीलाई संसारभरिको सुख र खुसी दिनेछु । आज यो शिलाजित तिम्रो प्रेम र विश्वाससामु झनै वीर भएको छ ।’ शिलाजितले शाल्मलीलाई बिहे ग¥यो । दुवै खुसी थिए । शाल्मलीलाई घरमा छाडेर ऊ वनमा सिकार गर्न जान्थ्यो । एक दिन शिलाजित सिकार गरेर फर्कंदा शाल्मली घरमा थिइन । शिलाजितले वरपर शाल्मलीलाई कतै भेटेन । ऊ शाल्मलीलाई खोज्दै निकै गाउँ–नगर चहा¥यो । धेरै दिनसम्म शाल्मलीलाई नभेटेपछि पागलजस्तै भयो । बेवारिसे डुल्न थाल्यो । भाङ, धतुरो, गाँजा, मदिराको नसामा दिनरात बिताउन थाल्यो । एक दिन शिलाजित एउटा भयङ्कर पहाडको फेदीमा पुग्यो । त्यहाँ एउटी वृद्धा थिइन् । भनिन्, ‘दुनियाँलाई यसको आवश्यकता छ । यो लाछी, आफैँसँग भागेर हिँडेको छ ।’ शिलाजितले वृद्धाको कुरालाई वास्तै नगरी गाँजा तान्न थाल्छ । वृद्धा भन्दै जान्छिन्– ‘उता, एउटी अबला नारीले एक वर्षदेखि दुष्ट राजासँग भोकभोकै लडिरहेकी छे, आफ्नो अस्मिता जोगाउनका लागि । एउटी कुटुनी बुढीले जाल रचेर उसलाई राजासमक्ष पु¥याई । राजाले उसलाई भोग गर्न खोज्यो । तर, उसले अस्वीकार गरी । भनी, ‘मर्द हौ भने पहिले मसँग खाली हात लड । मैले हार स्वीकार गरेपछि मात्रै मलाई भोग गर ।’ ऊ केहीबेर त्यो दुष्ट राजासँग लडेपछि बेहोस भएर ढल्छे । ब्युँझेपछि फेरि लड्छे । उसले पानी पनि खान पाएकी छैन । आज एक वर्ष बित्यो तर ऊ मरेकी छैन । हार स्वीकार पनि गरेकी छैन । उसलाई आफू नमर्नेमा विश्वास छ । उसको पतिले काललाई नै थुनेको छ रे † र, उसलाई अझ बढी यो विश्वास छ– काललाई नै थुन्न सक्ने आफ्नो पति एक दिन अवश्य आउनेछ । र, राजालाई हराएर आफूलाई फिर्ता लैजानेछ । यही विश्वासले उसमा साहस र शक्ति घटेको छैन । कैयौँपटक उसले त्यस दुष्ट राजालाई पनि बेहोस पारेकी छे । अँ, उसको नाम शाल्मली हो ।’ वृद्धाको कुरा सुनेपछि शिलाजितलाई सारा नशाले छोड्छ । अत्तालिँदै वृद्धासँग सोध्छ, ‘आमा, कहाँ छिन् मेरी शाल्मली ? कहाँ छ त्यो दुष्ट राजा ? म त्यसलाई सिध्याएर मेरी शाल्मलीलाई फिर्ता ल्याउँछु ।’ वृद्धाले भनिन्– यसरी आत्तिएर काम बन्दैन । लक्ष्यमा पनि पुगिँदैन । तँलाई देख्नेबित्तिकै मलाई यो विश्वास थियो– तँ नै शाल्मलीको पति शिलाजित होस् । तेरो आँखाले यही भन्छ । म तेरो आँखामा महान् कार्य पूरा गर्ने धैर्य र तेज देख्छु । मेरो कुरा ध्यान दिएर सुन् । यो ठूलो पहाडको पारि समथर भू–भाग आउँछ । त्यहाँ राजाको दरबार छ । त्यहीँ नै तेरी शाल्मली तेरो प्रतीक्षामा बाँचेकी छे । त्यहाँसम्म पुग्ने थुप्रै सजिला बाटा छन् । सजिलो बाटो गइस् भने तँ राजाको दास हुनुपर्छ । राजालाई हराएर शाल्मलीलाई फिर्ता ल्याउने भए तँ यो पहाडको बाटो जानुपर्छ । पहाडको बाटो सजिलो छैन । जो–कोहीले यो पहाड चढ्ने साहस गर्दैन । घना वन, हिंस्रक जनावर, भीर– यो डरलाग्दो पहाडमा खतरैखतरा छन् । एउटा तरबार लिएर जानू । (वृद्धाले आफ्नो कुटीबाट तरबार झिकिन् ।) यो तरबार तँजस्तै एक नौजवानले छाडेर गएको हो । उसले मेरो कुरा सुनेन । अहिले ऊ राजाको दास भएको छ । यो पहाड फेदीको दायाँतिर एउटा फलामको ढोका छ । त्यहाँ राजाका सिपाही बसेका छन्, अनेक हतियारसहित । उनीहरूसँग तैँले एक्लै लडेर सक्दैनस् । त्यसैले तँ बायाँतिर लाग्नू । त्यहाँ निर्वस्त्र सुन्दरीहरू छन् । तिनीहरूलाई हेर्दै नहेर्नू । तिनीहरूसँग आँखा जुधेपछि तेरो मतिभ्रष्ट हुनेछ । र, त्यहाँ तँ सुरासुन्दरीसँग भुल्नेछस् । त्यहीँ भुलिस् भने तँलाई तेरी पत्नी शाल्मलीले धिक्कार्नेछे । एउटी असल पत्नीले धिक्कारेको पुरुष धर्तीलाई भार मात्रै हुन्छ । सीधा पहाडमा हेरेर अघि बढ्नू । पहाडका प्रत्येक रूख, जरा, चट्टान र माटोमाथि विश्वास गरेर समाउनू । टेक्नू । तिनले तँलाई धोका दिनेछैनन् । तिर्खा लाग्दा तरबारले रूख काटेर पानीजस्तो चोप खानू । दूधजस्तो वा बाक्लो चोप नखानू, विष पनि हुनसक्छ । अगाडि आएको सिकार मात्रै मार्नू । दायाँ–बायाँ सिकार गरेर नभुल्नू । एकछाक खानकै लागि भुल्नेहरू लक्ष्यमा पुग्दैनन् । तँलाई शिखरमा पुग्न निकै समय लाग्न सक्छ । तर, शिखरमा पुगेपछि तेरो शरीरमा शक्ति आउनेछ । आँखा र अनुहारमा विशेष कान्ति छाउनेछ । शिखरमा राजाको सेनापति बसेको छ । त्यहाँ कसैले पनि आफूभन्दा ठूलासँग आँखा जुधाएर कुरा गर्दैनन् । तँैले प्रत्येकसँग आँखा जुधाएर कुरा गर्नू । तैँले आँखा जुधाएपछि सेनापतिले यो बुझ्नेछ– तैँले उसलाई हाँक दिँदै छस् । उसलाई यो पनि थाहा छ– त्यो शिखरमा कुनै मामुली र कमजोर व्यक्ति पुग्न सक्दैन । तँ ऊसँग तरबारले लड्नू । तेरो जित निश्चित छ । त्यसपछि सीधै राजाले दरबारमा बोलाउनेछ । त्यो राजाले मानिसको पसिना र रगत मात्रै खान्छ । राजाले तेरो पसिना र रगत खान खोज्नेछ । सीधा आँखा जुधाएर भन्नु, ‘पहिले खाली हात लडेर जित । अनि मात्र मेरो रगत–पसिना खाऊ ।’ त्यहाँ तँलाई कसैले खाली हात लडेर जित्न सक्नेछैन । त्यहाँ त उनीहरूको शक्ति भनेकै हतियार हो । त्यस राजालाई तैँले मारेर मर्दैन । किनभने, तैँले नै काललाई थुनेको छस् । त्यसैले राजालाई बेहोस बनाएर शाल्मलीलाई लिएर आउनू । वृद्धाको कुरालाई शिलाजितले कुनै राजकुमारको वीरताको कथाजस्तै सुनिरहेको हुन्छ । वृद्धा भन्दै जान्छिन्– मलाई मुटुको रोग छ । निको हुन मैले कुनै सपुतको एक मुठी आलो रगत खानुपर्छ । तैँले मलाई रगत दे, मैले तँलाईं दुध चुस्न दिन्छु । मेरो दुध चुसेर गएपछि तँ आफ्नो लक्ष्यदेखि विचलित हुनेछैनस् । शिलाजितले तरबारले आफ्नो बायाँ हातमा घाउ पारेर आमालाई रगत दिन्छ । र, आमाको दुध चुस्छ । आश्चर्य त, ती वृद्धाको छातीबाट दुध आउँछ । शिलाजितलाई कता–कता आफ्नो निर्दोष बालपन र ममतामयी आमाको सम्झना गराउँछ । उसलाई यो बोध हुन्छ– यी आमामा कुनै सत् छ । पेटभरि दुध चुसेपछि ती वृद्धा आमाको आशीर्वाद लिएर शिलाजित आफ्नो लक्ष्यमा अघि बढ्छ । शिखरमा पुग्न शिलाजितले निकै कष्ट बेहोर्नुपर्छ । त्यहाँ पुगेर राजाको सेनापतिसँग युद्ध गर्छ । सेतापतिलाई हराएर शिलाजित राजासमक्ष पुग्छ । सबै घटना वृद्धा आमाले भनेजस्तै गरी हुँदै थियो । तर, राजाले भने खाली हात लड्न मानेन । उसले सीधै शिलाजितलाई तरबारले आक्रमण ग¥यो । राजाको प्रहारले शिलाजितको पाखुरामा घाउ लाग्यो । र, रगत बग्न थाल्यो । राजाले भुइँमा बगेको शिलाजितको रगत चाट्न थाल्छ । त्यही वेला तरबार उठाएर शिलाजितले राजालाई बेहोस पार्छ । यता, धेरै दिनदेखि बेहोस शाल्मली ब्युँझन्छे । शिलाजित र शाल्मली रथ चढेर त्यहाँबाट हिँड्छन् । फलामको ढोका भएको बाटो भएर वृद्धा आमा रहेको ठाउँमा आइपुग्छन् । उनीहरूको अघि–पछि राजाका सिपाही थिए । सिपाहीहरूले दरबारबाट प्रशस्त धन–दौलत बोकेर आएका थिए । शिलाजित र शाल्मली दुवैले ती वृद्धा आमालाई साष्टाङ्ग दण्डवत गरे । वृद्धाले आशीर्वाद दिँदै भनिन्, ‘पारि हिमालको फेदीमा एउटा सुन्दर गाउँ छ । त्यस गाउँका मानिस निकै मिहिनेती छन् । उनीहरूले वर्ष दिनसम्म मिहिनेत गरेर प्रशस्त अन्न उब्जाएका छन् । उनीहरूलाई धन–दौलत दिएर अन्न लिनू । र, शाल्मलीको गाउँ जानू । त्यस गरिब गाउँका मानिसले धेरै समयदेखि अन्न खान पाएका छैनन् । नजिकै एउटा सत्खोला छ । जति खडेरी लागे पनि सत्खोला कहिल्यै सुक्दैन । त्यो हिमालदेखि बगेर आएको छ । यी सिपाहीलाई लगाएर सत्खोलाबाट गाउँमा कुलो लैजानू । सबै गाउँले मिलेर खेतीपाती गर्नू । जति फले पनि घरका मानिसअनुसार सबैले बराबर बाँड्नू । आफ्नो माटोमाथि सबैलाई बराबर हक हुन्छ । सबै कुरामा टाठाबाठाले मात्रै हक जमाउन खोजेर नै दुनियाँ झन्झन् दुःखदायी बन्दै गएको छ ।’ शिलाजितले वृद्धा आमाले भनेबमोजिम ग¥यो । वर्ष दिनमै शाल्मलीको गाउँ हराभरा भयो । गाउँमा खुसियाली छायो । त्यस गाउँको बखान दिन प्रतिदिन चारैतिर फैलियो । अन्ततः गाउँको नाम नै शाल्मली रहन पुग्यो । त्यो सुन्दर शाल्मली गाउँलाई हेर्न वृद्धा आइपुगिन् । भनिन्, ‘छोरा, तेरो पौरख देखेर म साह्रै हर्षित छु । मलाई यस्तै संसार देखेर मर्ने मन थियो, आज पूरा भयो । शान्तिको श्वास फेर्न पाएँ । मैले निकै लामो आयु बाँचेँ । अब म मर्न चाहन्छु । प्राणीले जन्मेपछि मर्नैपर्छ । यही नै संसारको थिति हो, प्रकृति हो । बेथितिले संसार चल्न सक्दैन । तैँले काललाई थुनेको छस् । हेर् त, यही गाउँका कति वृद्धवृद्धा मर्न पाऊँ भनी पुकारिरहेछन् । उनीहरूको शरीरले रोगलाई खेप्न सकिरहेको छैन । छोरा, अब तैँले काललाई छाडिदिनुपर्छ ।’ शिलाजित र शाल्मलीले एकै स्वरमा भने, ‘आमा, केही समय हामीले हजुरको सेवा गर्न चाहन्छौँ । थोरै पुण्य कमाउन चाहन्छौँ ।’ वृद्धाले मुसुक्क हाँस्दै भनिन्, ‘म मरेर कहाँ जान्छु र ? यही माटोमा त हुन्छु । यही माटो र यहीँका मानिसको सेवा गर्नू । यति ग¥यौ भने मेरो आत्मालाई शान्ति मिल्नेछ ।’ आमाको कुराले शिलाजित र शाल्मलीको चित्त बुझ्छ । उनीहरू काललाई छाडिदिन सिमलको रूख भएतिर गए । त्यहाँ कालको अस्थिपञ्जरमात्रै थियो । शिलाजितले अस्थिपञ्जरलाई बाहिर निकाल्यो । त्यही वेला आकाशवाणी भयो, ‘हे वृद्धा † मैले तिमीलाई एउटा वर दिने वाचा गरेको थिएँ । जे माग्छ्यौ, माग ।’ थुनिनुअघि कालले वृद्धालाई नै लिन आएको थियो । त्यति वेला कसैले मन्दिरमा पाएर छाडेको नाबालकलाई वृद्धाले हेरचाह गर्दै थिइन् । उनको यस्तो सत्कर्म देखेर काल वृद्धाको सामु प्रकट भयो । र, वृद्धाको छातीमा दुध आउने वरदान दियो । उसले वृद्धालाई अझै एउटा वरदान माग्न भन्यो । तर, वृद्धाले आवश्यक परेका वेला माग्ने बताएकी थिइन् । वृद्धाले आकाशतिर हेरेर भनिन्, ‘हे कालदेव † संसारका सबै मानिसलाई आफ्नो देशको माटोमाथि बराबर हक होस् । सबैले सुख–शान्तिले पूरा आयु बाँच्न पाऊन् । यही सत्य र न्यायको सधैँ जित होस् ।’ फेरि आकाशवाणी भयो, ‘शिलाजित, तँ निकै बुद्धिमान्, वीर र धर्मात्मा रहेछस् । तैँले आफूजस्तै पत्नी पनि पाएको छस् । यो रूखमा थुनिएर मैले मानिसका सुख–दुःखलाई बोध गरेँ । धर्तीमा तिमीहरूजस्ता मानिसको आवश्यकता छ । तिमीहरू सुखसयलले बाँच्नू । शिलाजित, तँ चाहन्छस् भने मैले यी आमालाई पनि केही समय आयु थपिदिन्छु ।’ शिलाजितले भन्यो, ‘हे कालदेव † अब मेरो कुनै चाहना छैन । मैले मेरा सबै चाहना तिमीलाई नै सुम्पन्छु ।’ त्यही रात वृद्धा आमा शिलाजित र शाल्मलीको काखमा बितिन् । शिलाजित र शाल्मली वृद्धवृद्धा हुँदासम्म सुखशान्तिले बाँचे । ०००

Monday, May 13, 2013



 नान्दी

  • आइतबार २९ बैशाख, २०७०
  • ध्रुवसत्य परियारनान्दी

उसले भयानक सपना देखेछ।

, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।

खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।

'तिमी को हौ? के गर्छ्यौ?'

उसको अनौठो व्यवहार देखेर सोध्छु। ऊ केही नबोली मलाई बोकिरहन्छ। मानौं, मलाई बोकेर थाक्दैन।
ऊ किन यस्तो नाटक गरिरहेछम सशंकित हुन्छु। कमजोर आत्मविश्वास भएकाहरू नै अनावश्यक शंका गर्छन्। मेरो सशंकित अनुहार उसले सजिलै पढ्छ। भन्छअज्ञानी। 

पुरुषहरू स्त्रीलाई साँचो माया गरेको नाममा पनि झुटो बोल्छन्गोरीलाई पनि काली भनेर। अथवाअबुझ अर्थ लाग्ने नाम दिन्छन्– लाटीबेहोसी यस्तै।

तरऊ भन्छ– अज्ञानी। 

'म कसरी अज्ञानी भएँ?'

'तिमी यो ठानिरहेकी छौ– म कुनै त्यस्तो धनाढ्य व्यापारी होइनजसले आफ्नै जीवन खरिदबिक्रीको वस्तु सम्झेको होस्। म त्यो चारघन्टे ड्युटीमा बसेको पुलिस होइनजसले माथिको आदेश वा सनकको भरमा तिमीहरू जस्तालाई दुई मिनेट दख्खल पुर्‍याओस्। म त्यस्तो डन होइनजसले कर्मचारी थर्काएर टेन्डर पारोस्। म त्यस्तो अधिकृत होइनजो इतिहासका मिति घोकेर वा भनसुनका भरमा सरकारी जागिर खाएको होस्। तलबबाहेक कमिसनजस्तै स्वास्नी खोज्दै यहाँआएको होस्। रतिमीलाई शंका छ– म केही हुँ।
आकाश खस्छ कि भनेर चिन्ता गर्नु अज्ञान हो।
आफै खस्छु कि भनेर चिन्तन गर्नु ज्ञान हो।
हुँदै नभएको आकाश खस्दैन सानुशंका नगर।'
'भोठूला कुरा नगर।'
मलाई उसको कुराले रिस उठ्छ। लाछी। आफूले केही गर्न सक्ने होइनअरूको रिस गर्छ। उसले आफूलाई जे होइन भनेको छमलाई ऊ त्यही हुनुपरेको छ। जसले मलाई पैसामाथि सुताउन सकोस्।
मेरो आवेशलाई उसले केटाकेटीको रिस जस्तै लिन्छ।
'जाऊनुहाएर आऊ,' अभिभावकले झैं आदेश दिन्छ।
'कुनै पनि शृङ्गार नगर्नू। गरिबकी छोरी गाजल धेरै लाउँछे,' म बाथरुम छिर्दै गर्दा उसले भन्यो।
पानीले नै नुहाइरहेकी थिएँ। तरममाथि यिनै शब्द बर्सिरहेझैं लागिरहेथ्यो– गरिबकी छोरी गाजल धेरै लाउँछे।
म गरिबकी छोरी– नान्दी नेपाली। स्कुलमा हुने गायननृत्यकविता प्रतियोगितामा प्रायः प्रथम हुन्थें। गाउँमा धेरैले मेरो प्रतिभा र रूपको प्रशंसा गर्थे। भन्थेनान्दी नामुद कलाकार बन्छे। धेरैले सहानुभूति राख्थेसायद टुहुरी भनेर। सातौं सन्तान जन्माउन नसकेर आमा बितिन्। मैले पढेको सौतेनी आमा रिस गर्थिन्। अनेक दुःखसँगै एसएलसी कटाएँ। गायिकानायिकालेखिका बन्ने सपना बोकेर शहर आएँ। गाउँकै एउटी दिदीसँग बस्थें। उनी फुटपाथमा मकै पोलेर बेच्थिन्। बल्लतल्ल रेस्टुरेन्टमा गीत गाउने काम पाएँ। जस्तो सोच/लक्ष्य उस्तै काम। पहिले त के के न पाएजस्तो लागेको थियो।
रेस्टुरेन्ट मालिक तलब दिने बेला सधैं लामो हात गर्थ्यो। मेरो अस्मिता मुठीमा लिन खोज्थ्यो। कोही नभएकीगरिबकी छोरी भनेपछि सबैले स्वास्नीकै रूपमै हेर्ने। अति भएपछि गाउन छाडें।
सँगै बस्ने दिदी पनि गाउँफर्किइन्। महँगीले बस्न नसकेर। एक्लै भएँ। आफैंले नकमाए भोकै पर्थें। 
रेस्टुरेन्टमै चिनेको एउटा दाइ थियो– काजी। निकै चिप्लो पारेर बोल्थ्यो। मेरो अफिस आऊकाम दिन्छुयति राम्री तिमी सस्तो रेस्टुरेन्टमा देखिनु हुँदैन भन्थ्यो। कागजी बिहे गरी तीन जनालाई नक्कली बहिनी बनाएर उसले अफिस चलाएको रहेछ। ट्राभल एजेन्सी वा यस्तै अर्को अफिस छ भन्थ्यो। म काम खोज्दै उसकोमा पुगें। उसको अफिसमा काम पाउन अनिवार्य योग्यता– रूप र जवानी। म गएकै दिन तीन जनालाई त अयोग्य भनी पठायो। मैले काम पाएँ– एक रात बिताएको दस हजार।
मेरो पहिलो ग्राहक नै बुझिनसक्नु छ। मैले नुहाएर आउँदा उसले पूजाका सामग्री तयार पारेको थियो। 
'के गर्न लागेको?'
'पूजा। तिमीलाई थाहा छैनहाम्रो समाजमा कुनै पनि शुभकार्य थाल्नुअघि पूजा गरिन्छ।'
पहिले त ऊ पागलजस्तो लागेको थियो। तरकुनै प्रसिद्ध देवीलाई जस्तै निकै श्रद्धापूर्वकसंयमित र स्वाभाविक भएर उसले मेरो पूजा गर्छ। म हेरेको हेर्‍यै हुन्छु। तीनपटक त मेरो खुट्टामा ढोग्यो। अनिउसको मप्रतिको श्रद्धा र सम्मानदेखि भने स्वयं पागल हुन पुगें। स्त्रीहरू कति छिट्टै पग्लन्छन्।
त्यो रात उसले यति रोचक र रोमाञ्चित बनाइदियो। जस्तोवर्षौंदेखि प्रतीक्षा गरेको सपनाको राजकुमारसँग सुहागरात मनाउँदैछु। स्त्रीसँग कसरी बोल्नेचल्नेजिस्कने ऊ माहिर लाग्थ्यो। हामीबीच धेरै कुरा भए।
मेरो धेरै अनुरोधपछि मात्र ऊ रहस्य खोल्छ
मैले सपना देखेंराजा भएको। घोडा चढी आफ्नै राज्यमा घुम्दाघुम्दै एउटा गरिब बस्तीमा पुग्छु। त्यहाँका भोकानांगाले मेरो श्रीपेचमा आगो लगाइदिन्छन्। हँसियाहथौडा लिएर मलाई लखेट्छन्। मेरो घोडा बेस्सरी कुदेर सम्भ्रान्तहरूको बस्तीमा पुग्छ। त्यहाँका सुकिलामुकिलाले मलाई बचाउन खोज्छन्। दुवै पक्षबीच घमासान युद्ध हुन्छ। के गरूँके नगरूँम असमञ्जसमा हुन्छु। अकस्मात मेरो चेत खुल्छयो सब सपना हो।
गरिबको छोरो गरिबकै पक्षमा लड्नुपर्छ। सपनामै होस्न्याय गर्नैपर्छ। म गरिबको पक्षमा उभिन्छु। तरकुनै षड्यन्त्र सम्झेर मलाई गरिबहरूले स्विकारेनन्। पछिसम्भ्रान्तहरूले स्विकार्ने कुरै भएन। दुवै पक्ष मिलेर मलाई लखेट्न थाल्छन्। मेरो घोडा वेगले कुदिरहेको हुन्छ। एउटा नदी तरेर बगरमा पुगेपछि घोडा बस्छ। म ब्युँझन्छु।
यो भयानक सपनाले मलाई धेरै दिन बिथोलिरह्यो। तरकसैलाई भनिनँ। केही दिनपछि फेरि सपना देखें। कुनै मन्दिर परिसरमा एउटी बूढीआमाले भनिन्, 'छोरातैंले देखेको सपनाको अर्थ गहिरो छ। अरूले अर्थ लगाएर हुँदैन। आफैंले बुन सक्नुपर्छ। यसको फल अशुभ छ। तँलाई ठूलो अनिष्ट पर्न सक्छ। तरतँभाग्यमानी छस्। अनिष्ट हुनुपूर्व नै लक्षण पाएको छस्। यस्तो सपना जोकोहीले देख्दैन। संकटमोचनको विधि छ तर सहज छैन। जुन म बताउँछु। दियो बालेर सेता फूलअक्षता र जलले आफ्नै आमाको योनीमा पूजा गर्नूकुनै मन्त्रोच्चारण गर्नु पर्दैन। मन स्थिर भई सम्पूर्ण रूपमा श्रद्धाभाव नआउँदासम्म पूजा गरिरहनू। अवश्य तेरो संकटमोचन हुनेछ।'
सदियौंदेखि शिवलिंगको पूजा गरिँदै आएको यो समाजजहाँबूढीआमाले बताएको संकटमोचन विधि सम्भवै छैन। अन्ततः चोरबाटो खोज्दै तिमीसँग आइपुगें।

'तिम्रो श्रीमती?'
मेरो बिहे भएको छैन। सानैदेखि मैले समानतालाई मन पराउँथें। एकोहोरो प्रेम गरेंदस वर्षभन्दा बढी। २०६४२८ चैतको दिन हातमा लालीगुराँस लिएर म उनको सामु उभिएँ, एउटा घुँडाले टेकेर। मलाई सहजै स्विकारिन्। छिट्टै बिहे गर्नेमा हामी वचनबद्ध थियौं। तरजातगोत्रदाइजोमा कुरा नमिलेर बिहे भाँडियो।
'तिमी सपनामाथि पनि विश्वास गर्छौ?'
तिमीले पनि सपना पालेकी थियौ– गायिकानायिकालेखिका बन्ने। तरतिमीले आफ्नै सपनामा विश्वास गर्दिनौ। आफ्नै सपनामाथि विश्वास नगर्नेहरू नै अरूको सपनाका लागि बिक्न पुग्छन्।
०००
किन किन ऊसँग बिताएको रात मेरो जीवनको घोर घुम्ती बन्यो। 
निर्णय गरेंअब मेहनत गरेर पढ्छु। लेखिका बनेरै छाड्छु। सडकमा मकै पोलेर बेच्छु। तरआफ्ना सपना बेच्दिनँ।
केही दिनपछि काजी दाइले फोन गर्‍यो, 'भरे आऊ। गाँठवाला इन्डियन छ। तिमीलाई टिप पनि दिन्छ।'
मैले नआउने बताएँ। 'फोटो र भिडियो हेरेर उसले तिमीलाई नै रोजेको छ। तिमी आउनैपर्छ। आइनौ भने,' उसले धम्की दियो।

भरे म गइनँ। राति १० बजेतिर मेरो डेरामा पुलिस आयो। देखेंइन्स्पेक्टर थापा। जसले रेस्टुरेन्टमा गाउँदा धेरैपटक मलाई जबर्जस्त गर्न खोजेको थियो। रेस्टुरेन्ट मालिकले पनि इन्स्पेक्टर सरको मन राखिदेऊ भन्थ्यो। सात जना पुलिसले मेरो कोठा छापा हान्छन्। इन्स्पेक्टर थापा रवाफिलो शैलीमा प्रस्तुत हुन्छ, 'विशेष सुराकीका आधारमा हामी आएका हौं। तैंले वेश्यावृत्ति र गाँजाचरेसको धन्दा गर्छेस्!'

केहीबेर कोठाका सामान यताउता छरेपछि उनीहरू गए। यताघरबेटीको चेतावनी, 'भोलि बिहान ६ बजे कोठामा साँचो लगाउँछु। त्यसअघि नै कोठा खाली गर्नू।'
भोलिपल्ट
पहिलोपटक शहर आउँदा लगाएर आएको कुर्तासुरुवाल लगाएँ। आँखामा धेरै गाजल दलें। गाउँबाटै ल्याएको झोला भिरेंचप्पल लगाएँ। रझिसमिसेमै कोठाबाट निस्कें।

रत्नपार्कतिर फुटपाथमा एउटी दिदीले पकाएको चिया पिउँदै थिएँ। उनी सोध्दै थिइन्, 'भर्खरै गाउँबाट आएको हो बहिनीकोही बिरामीलाई भेट्न आएको हौ कि?'
'होदिदी। दाइलाई भेट्न आएको। इन्स्पेक्टर हुनुहुन्छ। आज उहाँको टाउकाको अप्रेसन छ।'
त्यहीबेला रेस्टुरेन्ट मालिकको फोन आयो। 'कहाँछौसञ्चै छौचटक्कै माया मार्‍यौ त! ठूलै प्रगति गर्‍यौ किअचेल यता पनि आउँदिनौं। भरे आऊ न रेस्टुरेन्टतिर। भेटघाट गरौं,' उसले यस्तै भाषा बोल्यो।

'दाइ पनि। बैनीले माया मारेकी छैन। भरे होइनअहिले नै आउँछे। बरु इन्स्पेक्टर सरको मन राख्न सकिनँ। उहाँरिसाउनु भएजस्तो छ। उहाँलाई पनि खबर गर्नूम छिटै आउँछु,' म उस्तै बनिदिएँ। जस्तोउसको उद्देश्य थियो।
भर्खरै दसैंतिहार सकिएको। काठमाडौं खाल्टोलाई बिस्तारै चिसोले छोप्न खोज्दै थियो। बिहानीपख। धमाधम सडक बढारिँदै थियो। कलेजट्युसन जानेमर्निङवाक गर्ने फटाफट हिँड्दै थिए। चिया पिएपछि सुस्तसुस्त सडकमा मैले उही अनौठो सपना देख्नेलाई फोन गरें। ऊ गाउँगएको रहेछ।
भन्दै थियो—
मैले फेरि सपनामा उनै बूढीआमा देखें। भनिन्, 'मैले तँलाई आफ्नै आमाको योनीमा पूजा गर्नू भनेकी थिएँ। तैंले चलाखी गरिस्। चलाखीले ज्ञान र शान्ति प्राप्त हुँदैन। तेरो बुद्धिले भ्याएसम्म जे गरिस्ठीकै गरिस्। मैले सम्पूर्ण श्रद्धाभावमा पूजा गर्नू भनेकी थिएँ। तरपूजा गर्दागर्दै तँएकपटक उत्तेजित भएको थिइस्। उत्तेजित अवस्थामा श्रद्धाभाव आउँदैन। पूजाको विधि पुगेन छोरा। केही छैनम अर्को सजिलो विधि बताउँछु। अबदेखि स्वतःस्फूर्त कुनै वृद्धाआमाको सेवा गरी बस्नू। सेवालाई कुनै बन्धन र सजायको रूपमा नलिनू। पुण्य सम्झेर सेवा गरिरहनू। अथाह सुखशान्ति र समृद्धि अवश्य प्राप्त गर्नेछस्।'

यताघरबाट आमाले पनि बारम्बार फोन गर्नुभयो। हरेक दिन सपनामा तँलाई नै देख्छु भनेर बोलाउनुभयो। त्यसैले म गाउँआएँ। अब केही गर्ने सोच्दैछु।
०००
ऊसँग फोनमा धेरै कुरा हुन सकेन। नेटवर्कले धोका दियो। मध्याह्नतिर म रेस्टुरेन्ट पुगें। इन्स्पेक्टर थापा विशेष कक्षमा बसेको रहेछ। उस्तै निर्दोष मुस्कान दिएँ। जस्तोशहर आएको सुरुसुरुमा मुस्काउँथें। ऊ मलाई लट्ठ परेर हेर्न थाल्छ।

शिरमा लगाउन वा देउरालीलाई चढाउन होस्एउटा फूल चुडाउँदा दिल दुख्थ्यो। एउटा अन्डा फुटाउँदा हात काम्थ्योजिउँदो चल्ला छ कि भनेर। होसाह्रै क्रूर बनेर मैले इन्स्पेक्टर थापाको हत्या गरें। मैले झोलामा खुकुरी लिएर गएकी थिएँ। उसको सामुन्ने उभिएर शिरमा प्रहार गरें।
त्यो रात कुमारित्व तोडिएपछि निकै रोएकी थिएँ। ऊ भन्दै थियो– 'यो आँसु। शिरमा ताज पहिरिँदै गरेकी सुन्दरीको आँसु। अनिभीरमा घाँस काट्दै गरेकीस्कुलकलेजको मुखै नदेखेकीहृदयभरि माया सँगालेर कुनै परदेशीको प्रतीक्षामा बसेकी दिलमायाको आँसु। सबैका आँसु नै हुन्। तरयिनीहरूले एकअर्काको आँसुलाई जान्दैनन्।'

यो कठघरामा उभिएर म कुनै पश्चाताप र क्षमायाचना गर्दिनँ। मलाई यो अदालतको जस्तोसुकै फैसला मञ्जुर छ। सजाय भोग्नुअघि एकपटक उनै आमालाई भेट्न चाहन्छु। जुन आमाको सन्तानको सपनाले मेरा सपनाको हत्या हुनबाट जोगाएको छ। एकपटक म उनै आमाको स्पर्श चाहन्छु।

Thursday, February 28, 2013

जात बिर्सने रोग


Thursday, Feb 28, 2013
जात बिर्सने रोग पीडीएफ मुद्रण इमेल
  • ध्रुवसत्य परियार

तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।


प्रायः मैले यो समाज र सभ्यताले दिएको आफ्नो जातलाई बिर्सन्छु । जुन मेरा लागि एउटा रोग बनेको छ । रोगले कुनै न कुनै पीडा दिन्छन् नै । मलाई यो जात बिर्सने रोगले पनि पीडा दिँदै आएको छ ।
जब यो रोग लाग्छ, तब आफूलाई केवल मान्छे पाउँछु- कुनै जात, धर्म, वर्ग, क्षेत्रको नभएर । र, अरूलाई पनि आफूजस्तै मान्छे देख्छु । चाहन्छु, यही रोगमै बाँचू, यही रोगले मरूँ । तर, यसो नहुने भएर नै यो मेरा लागि रोग बनेको छ ।
सानैदेखि देख्थेँ, हाम्रो घरमा आउनेलाई पिँढी/आँगनमा पिर्का/गुन्द्रीमा बसाइन्थ्यो । म हजुरबासँग अरूको घरमा जाँदा पनि त्यसै गरिन्थ्यो । लाग्थ्यो, सबैले यसै गर्छन्, यसै गर्ने हो ।
तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । जीवनमा साथीको घरमा बास बसेको त्यो पहिलो रात थियो । हिउँदको समय, गाउँका बारी खाली हुन्थे । स्कुल छुट्टी भएपछि बाटो छाडेर बारीतिर लाग्यौँ । बारी, बाटोमा हामी केवल बालक थियौँ । निष्छल थियौँ, निर्दोष थियौँ । हाम्रो कुनै जात, धर्म, क्षेत्र थिएन । विचार, भावनाले हामी एक थियौँ । सँगसँगै हाँस्दै-खेल्दै भरे अवेला जब साथीको घरमा पुग्यौँ, हामी छुट्टयिौँ । साथी घरभित्र, म बाहिर भएँ । स्कुल छुट्टी भएपछि घर नगएर खेल्दै हिँडेको खबर आ-आफ्नो घरमा पुगिसकेको थियो । साथीको आमाले दुवैलाई गाली गर्नुभयो । त्यो थोरै गालीमा धेरै माया थियो । मायाले नै मलाई बाहिर पिँढीमा खुवाइयो र बाहिरै सुताइयो । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।
स्याङ्जा चापाकोट-८ मा सात-आठ घरको दमै गाउँ । सबैभन्दा पुछारमा हाम्रो घर । हामीभन्दा माथि पनि दलित बस्ती नै थियो । सबैभन्दा माथि ठकुरी गाउँ । पुछारमा घर भएकाले पनि अन्य जातिका मानिससँग हाम्राे त्यति घुलमिल हुँदैनथ्यो । हाम्राे पानी पँधेरो पनि छुट्टै छ ।
स्कुलले नै मलाई सबैभन्दा पहिले मान्छेको जात पढायो । माथिल्ला जातिले कक्षा-कोठाको बेन्चमा झोला राखेर भन्थे, 'झोलामा छोइने कुरा छ, तल्लो जातले छुनु हुँदैन ।'
तल्लो जात भनिएका हामी बाध्य भएर पछाडि बेन्चमा बस्थ्यौँ, बेन्च नपुगे भुइँमा । स्कुलमा र स्कुल जाँदा-आउँदा बाटोमा मलाई अरू केटाकेटीले 'दमै केटा, दमै केटा' भन्थे ।
तीन कक्षा पढ्दा ठकुरी साथीको घरमा बास बसेको सम्झना किन-किन सधैँ ताजा भइदिन्छ । यसकारण पनि होला, तीन कक्षामा म प्रथम भएँ । रातै अबिरसँग घरमा जाँदा हजुरबा मदेखि असाध्यै खुसी हुनुभएको थियो । जीवनमा मैले हजुरबालाई त्यति खुसी बनाएको त्यो नै पहिलो र अन्तिमजस्तो लाग्छ ।
पाँचसम्म गाउँकै जनजागृति प्राविमा पढेँ । ६ देखि एसएलसीसम्म गंगालाल माविमा । माविमा पढ्न जानु पनि ठूलै कुरा थियो । प्रायः दलितहरू चार/पाँच कक्षादेखि नै पढ्न छाड्छन् ।
माविमा धेरै विद्यार्थी थिए ।  विद्यार्थी धेरै भएर होला कक्षाकोठामा भने जातीय भेदभाव त्यसै हराएको पाएँ । गाउँ-बेंसीको पायक । स्कुलबाट र्फकंदा उकालो मात्रै हिँड्नुपथ्र्यो । बीचमा वन थियो । वनको मुखैमा दामगाडे भन्ने चौतारी । त्यहाँ, तीन घर मगर थिए ।  स्कुलबाट थाकेर आएका धेरै विद्यार्थी त्यहाँ पानी पिउँथे । दलितले पानीको भाँडा छुनु हुँदैनथ्यो ।  साथीहरूले भाँडाबाट पानी खन्याइदिन्थे, मैले मुख बाएर वा अञ्जुलीले पानी खान्थेँ । सबै थाकेर आउने भएकाले पनि कहिलेकाहीँ साथीहरू मलाई पानी खन्याइदिन झिजो मान्थे । एउटाले अर्कोलाई देखाएर पन्छन्थे ।
स्कुलबाट र्फकंदा प्रायः रमाइलो हुन्थ्यो । हाँसखेल गर्दै उकालो हिँड्थ्यौँ । प्रायः साथीहरूसँग रमाउँदा रमाउँदै मैले आफ्नो जातै बिर्सन्थे । हामी सबैको एउटै जात 'विद्यार्थी' हुन्थ्यो । उकालो बाटो तिर्खाएर जब हामी दामगाडे आइपुग्थ्यौँ, तब जात बिर्सने रोगले मलाई पीडा दिन्थ्यो । मैले त्यहाँ कैयौँपटक असाध्यै तिर्खाउँदा पनि पानी पिइनँ ।
नौ कक्षामा पुगेपछि साथीहरूको एउटा समूह बन्यो । १०-११ जनाको समूहमा म मात्र दलित थिएँ । हामीसँगै ट्युसन पढ्थ्यौँ । प्रायः सबै सँगै हिँड्थ्यौँ ।  रमाइलै हुन्थ्यो । जब कुनै साथीको घरमा जान्थ्यौँ, सबै घरभित्र हुन्थे, म बाहिर । अनि, मलाई नरमाइलो लाग्थ्यो ।
पाँच कक्षासम्म प्रथम/दोश्रो भइरहन्थेँ । तर ६ देखि जेनतेन पास हुन थालेँ । त्यहाँ चार-पाँचवटा प्राविबाट आएका सिपालु विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । धेरै विद्यार्थी, पढ्नेले पढ्थ्यो, नपढ्ने भाग्थ्यो, कुनै बन्देज थिएन । योबीचमा खैनी-चुरोट खाने कोसिस पनि गरेँ । खै कुन सौभाग्यले हो, खैनी-चुरोटलाई मेरो शरीरले सहेन । यसमा लत लागेन । खैनी मुखमा राखेपछि भनभनी घुमाउँथ्यो । एकसर्को चुरोटले दिनभरि खोकी लाग्थ्यो ।
स्कुल छाडेर खासै भाग्दिनथेँ । पढ्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । पहिलोपटक ठकुरी साथीको घरमा बास बसेपछि मेरो मनमा धेरै विचार आए । हजुरबासँग सोधेँ, 'जात के हो ? मान्छे कसरी ठूलो मान्छे हुन्छ ? हामीलाई किन सबैले हेप्छन् ?'
हजुरबा भन्नुहुन्थ्यो- कहीँ गए पनि आफ्नो जात नलुकाऊनू, पढ्नू, सीप सिक्नू र इमानमा बस्नू ।'
बाले भारतमा नोकरी गर्ने भएकाले पनि म हजुरबाको काखमा हुर्कें । सानैदेखि हजुरबालाई रामायण पढेर सुनाउँथे ।  हजुरबालाई रामायण पढेर सुनाएपछि मैले अन्य घरको काम गर्नुपर्दर्ैनथ्यो । घाँस काट्ने, पानी ल्याउने, आदि घरको काम गर्ने अल्छीले पनि सानैमा धेरैपटक रामायण पढेँ ।
बर्खाको वेला दिदीसँग गाईवस्तु चराउन गएको थिएँ । मेरै कारणले गाई हरायो । आफूलाई रामायणको  राम-लक्ष्मण, लव-कुश र हनुमान सम्झन्थेँ । गाईवस्तु पर पुगेपछि बेसरी दौडेर फर्काउन जान्थेँ । गाईले नेटो काटेछ । भरे हजुरबाले गाली गर्नुभयो । सधैँ माया गर्ने हजुरबाले गाली गरेपछि म घर छाडेर हिँडेँ । खोलो कहाँ पुग्छ, गण्डकी कहाँ पुग्छ भन्दै एउटा भव्य घरमा पुगेँ । त्यो घर चापाकोट सेरोफेरोकै नामुद साहु भुवानेश्वर आचार्यको रहेछ, पछि थाहा पाएँ । हाम्रो घरमा मट्टीतेल हुँदा टुकी बाल्थ्यौँ । नहुँदा, आगो-अगुल्टोले नै निर्वाह गथ्र्यौं । अहिलेजस्तो बिजुली थिएन । भरे अवेला त्यो घरमा पुग्दा झिलीमिली थियो । वरपर फूलैफूल, ठूलो गोठ, चारैतिर गोबर ग्यासको बत्ती, रमाइलो मानीमानी त्यो सब हेर्दै थिएँ ।
सानो केटो, साँझपख, आफ्नो घरवरपर रमाइरहेको  देखेर होला, त्यो घरकी आमाले मलाई बोलाइन् ।
'माथि डाँडामा घर, दमै थर,' मैले यस्तै भनेँ ।
'मगर गुरुङ भएको भए पानी चल्थ्यो । दमै परिस् । सोझो रैछस् । घर-परिवार पनि रैछ । अब हाम्रैमा गोठालो बस् । बा-आमाले खोजेछन् भने जालास्,' ती आमाले बास दिइन् ।
त्यो रात त्यहीँ बसेँ । भोलिपल्ट कालीको तिरैतिरै कतै पर जाने सोचेको थिएँ । सम्झँदा अचम्म लाग्छ, कहाँ जान हिँडेको होला ? रामायणको प्रभाव, कतै पर सानी सीता र सुनको मृग भेट्छुजस्तो लाग्थ्यो ।
त्यो घरमा पनि बाहिरै खाएँ, बाहिरै सुतेँ । जहाँ गए पनि जातसँगै जाने भएपछि मलाई नरमाइलो लाग्न थाल्यो । सोचेको थिएँ- कतै पर पुगेर जात ढाँट्छु । मलाई आफ्नो जातप्रति सम्पूर्ण रूपमा घृणा लागिसकेको थियो । त्यो घरमा दुई रात बिताएँ । कालीको किनारमा गोठालो जाँदा त्यसै रमाइलो लाग्यो । तेस्रो दिन मलाई खोज्दै हजुरबा पुग्नुभयो र घर फर्कें ।
हाम्रो गाउँमा  दलितले ठकुरीहरूलाई 'बाबुसाहेब', 'मैयाँसाहेब' भन्थे, यो चलन अझै छ । ठकुरी जातको सानो बच्चाले पनि वृद्धवृद्धा दलितलाई 'तिमी' भनेर सम्बोधन गर्छन् । तर, वृद्धवृद्धा दलितले जुनसुकै उमेरको ठकुरीलाई 'हजुर' भनी सम्बोधन गर्छन् । यसरी सम्बोधन नगरे ठूलो बन्न खोज्यो भनिन्छ ।
११/१२ वर्षको हुँदा एउटा ठकुरीको घरमा पूजाको निम्तो मान्न गएको थिएँ । दुना-टपरीमा प्रसाद बाँडिदै थियो । माथिल्ला जातिले हातैबाट प्रसाद लिने र तल्ला जातले भुइँमा राखेको टपरी टिप्नुपर्ने रहेछ । मलाई ख्यालै भएन । मैले हातैबाट प्रसाद झिकेँ । प्रसाद बाँड्ने दिदीले गाली गरिन्, 'तल्लो जात भएर तलै बस्न जान्नुपर्छ ।'
गाउँमा हरेक वर्ष दशैँमा कालिका देवीको पूजा हुन्छ । ठकुरी गाउँको बीचमा कोतघर छ । नवमीको दिन रातभरि कोतमा दमैहरूले बाजा बजाउँछन् । गाउँका दमैले आफ्नो घरमा भएको बाजा लिएर जानुपर्ने चलन छ । म पनि जान्थेँ । नाचगान हुन्थ्यो । रमाइलो गर्न गाउँले जम्मा हुन्थे ।  नाच्न आउने केटाहरूले बजाउने दमैलाई हप्काउँथे- छिटो बजा, ढिलो बजा, राम्रो बजा भन्दै । कतिले नाच्दानाच्दै बजाउने दमैलाई लात्तीले हान्थे । यस्तो वेला सम्हाल्ने राम्रा मान्छे पनि हुन्थे  । तर, नराम्रोले नराम्रो गरिसकेपछि नै राम्रोको अर्थ र उपस्थिति हुने हो । दमैले बाजा नबजाएसम्म रमाइलो हुँदैनथ्यो, तर पनि दमैलाई राम्रो व्यवहार गरिँदैनथ्यो । जहाँ पनि बाजा बजाउने दमै हेपिएकै देख्थेँ । यसैले होला बाजा बजाउनमा मेरो मन गएन ।
सानैमा एकपटक म भैँसीको मासु लिन गएको थिएँ । अहिलेजस्तो नजिकै बजारमा मासु पाइँदैनथ्यो । धेरै दलित जम्मा भएर भैँसी काट्थे । सस्तो पनि पथ्र्यो । काटेको ठाउँमा केही मासु पकाइन्छ, परेको मोलभन्दा थोरै नाफा झिकेर जाँड-रक्सी किनिन्छ र सबैले बाँडेर खाने चलन छ । मासु खानेमा सबै दमै, कामी, सार्की जाति हुन्थ्यौँ । एउटा सार्की बाले दमैले छोएको भनेर पकाएको मासु खाएनन् । पकाएको मासु छोइने रे । त्यतिवेलै मैले दलितभित्र पनि सानो-ठूलो जात हुने थाहा पाएँ ।
वरपरका माथिल्ला जाति प्रायः लाहुरे हुन्थे । गाउँछिमेकमा लाहुरेकै सान थियो । मलाई पनि लाहुरे हुने भुतले छोयो । आठ पास गरेपछि नागरिकता निकालेँ, दुई वर्ष उमेर बढाएर । लाहुरे हुने मेरो न उमेर थियो, न त शरीर नै । म लाहुरे हुन सकिनँ । एसएलसीको मार्कसिट र नागरिकतामा उमेर फरक पर्‍यो । उमेर सच्याउन सदरमुकाम गएँ । एउटा मान्छेले भन्दै थियो, 'पाँच हजार लाग्छ, देऊ, अर्को नागरिकता निस्कन्छ ।' मसँग पाँच हजार रुपैयाँ थिएन । सोचे, घुस दिएर बन्ने काम नदिँदा किन बन्दैन ? सीधै सिडिओलाई भेटेँ । मेरो समस्या सुनेपछि उनले भने, 'तँलाई उमेर घटाउनु र बढाउनुपर्ने ? तेरो काम बन्दैन जा ।' मेरो मानसिकता— म दलित भएकाले यसरी 'तँ' भनेर दासलाई जसरी हप्काइँदै छ ।
सरकारी कार्यालयमा हप्काइएको त्यो पहिलोपटक थियो ।  मलाई थाहा थिएन, जिल्लामा सिडिओ राजाजस्तो हुन्छ, उसको हुकुम चल्छ भनेर ।
'किन बन्दैन ? जनताको काम गर्न होइन तपाईं यो कुर्सीमा बसेको ? उमेर फरक पर्‍यो, सच्याउन आएँ, मैले के बिराएँ ?'
सिडिओले प्रहरीलाई आदेश दिए- यसलाई लगेर थुन्दे ।
एउटा प्रहरीले केहीबेर सम्झाएपछि छाडिदियो । उसले यही सम्झायो- सिडिओ जिल्लाको राजा हो ।
सिडिओको व्यवहारले म निकै रुष्ट भएर माओवादी जनयुद्धमा जाने सोचेको थिएँ । पूरै व्यवस्था परिवर्तन गर्छु भनेर होइन, निकै साँगुरो सोचले । जस्तो व्यवहार भोग्यो, उस्तै विचार आउने रहेछ । भोलिपल्ट अर्कै कामु सिडिओले क्षेत्रीय शिक्षा निर्देशनालय पोखरालाई पत्र लेखिदिए । मेरो एसएलसीको मार्कसिटमा केरेर  जन्ममिति सच्याइयो  एसएलसीपछि बाले मलाई खाडी मुलुकमा पठाउन चाहनुहुन्थ्यो । नत्र गाउँमै पसल खोल्न, गाउँकै क्याम्पसमा पढ्न भन्नुहुन्थ्यो । जिद्दी गरेर काठमाडौं आएँ ।
काठमाडौंमा बसेर पढ्न सक्ने घरको आर्थिक हैसियत थिएन । कुनै काम खोज्नैपथ्र्यो । हाम्रै क्षेत्रका सांसद् शंकर पाण्डेलाई भेट्न गएँ, जागिरका लागि । उनी मध्यबानेश्वरतिर बस्थे ।  उनी पूजाकोठामा थिए । म एकैचोटि पूजाकोठामा छिरेँ । मेरो उही जात बिर्सने बानी । उनले हप्काए, 'बाहिर जा ।'
सोचे, ठीकै हो । पूजाकोठामा अनुमतिविना ह्वात्तै छिर्न हुँदैनथ्यो । बाहिर आएर पाण्डेले मलाई मुसार्दै भने, 'हामीले यहाँ त्यस्तो जातीय भेदभाव गर्दैनौँ ।' उनले त्यसो नभनेको भए ठीकै थियो । भनेपछि मैले कुरो बुझेँ । त्यसपछि म पाण्डेलाई भेट्न कहिल्यै गइनँ ।
जागिरका लागि दलित संघ-संस्थामा धाएँ । सबैभन्दा जातीय भेदभाव त मैले दलित संघ-संस्थामा पाएँ । दमाई, कामी, सार्कीमा एकले अर्को जातलाई सहयोग नगर्ने । त्यसमाथि नातावाद । आफ्नो न नाता, न त नेता । झोलामा सामान बेच्नेदेखि लिएर सुरक्षा-गार्डको काम गरेँ ।
काठमाडौँ आएर पनि मसँग बस्ने साथी गैरदलित नै थिए । बबरमहलमा घरबेटीले जात सोधे । साथी दुर्गा थापाले हतारिँदै भन्यो- थापा । त्यो घरमा त्यस्तै दुई वर्ष बसेँ । त्यतिन्जेल जात लुकाउन मलाई निकै पीडा भयो । अचेल कसैले जात सोधिहाले मलाई चिच्याएर भन्न मन लाग्छ- दमै ।
जातीय भेदभावले दिने पीडाको ओखती अस्पतालमा होइन, अदालतमा पाइन्छ भन्छन् । मलाई लाग्छ, यसको ओखती अदालतमा होइन, मानिसको विचार, भावना, अन्तर्मन र संवेदना छ । थाहा छैन, त्यसलाई जगाउने कसरी ?
 

Comments   

0 #5 Ganeshji 2013-02-27 11:17
Srimad Bhagawad Geeta padnuhos ra gyani guru khojera yog garna thalnu hos, tapaile aafno prasna ko jawaf paunuhunechha.
Quote
0 #4 Ramesh Bhandari 2013-02-26 11:41
yes people are heartless they hurt other people by cast and something else . In my opnion cast is a that weapon which cuts their felings and humanity. But people don`t think about that
Quote
0 #3 biswas 2013-02-25 15:38
yekdamai ramro lagyo ...harek kon kon bata utkristha cha hajur ko lekh
Quote
0 #2 Solukhumbu Gurung 2013-02-25 13:31
..., hajurba bhannuhunthyo - kahie gaie pani, jaat nalukaunu, padhnu, sieep ciknu ra imanma basnu. Damai lai garne maya ma Nepali ko sagun chha.
Quote
0 #1 mohan khadka 2013-02-25 07:16
यो पढदै गर्दा मलाइ पनि मेरो बाल्यकालको एउटा घटना याद आयो कति बर्षको थियँ तर सम्झना भएन,हाम्रो घर नजिकै कामीहरुको घर छ हाम्रो घर तल माथि हाम्रै जातिका घर भए पनि मेरो उमेरको साथी कमै थिय ,त्यसैले मँ कामीको छोरासंग मताउथ्ये (रुकुम तिर बाल्य अबस्थमा खेल्ने खेललाई मताउने भन्निछ ) कमीकै घर आँगनमा मताउदै थियौ कामी साथी आफ्नो घर भित्र पस्यो उ संगै म पनि घर भित्र पसे ठुलो फलामको डिबिमा मासु पकाएर रखिएको थियो ,साथीले मलाई एउटा बटुकोमा मासु हालेर दियो मं मासु खाँदै थियं साथीको आमले पानीको गाग्री राख्दै साथीलाई बेस्सरी गाली गर्दै बिस्ट बानका छोरलाई तैले भैसाको मासु ख्वाउने भनि बेस्सरी पिट्नु भो ,कामीले छोयको र भैसीको मासु पनि खानु हुन्न भन्ने मलाइ सिकाइएको भए पनि यो कुरा मैले बिर्से ...
Quote
Refresh comments list

Monday, January 7, 2013


धुनी
 
ध्रुवसत्य परियार
 
सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो!
सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ।
'मैले कालो-चिया भनेको थिएँ,' वेटरलाई सम्झाएँ।
'एक्स क्युज मी, मैले पनि मिल्क-कफी भनेकी थिएँ, ब्ल्याक-टी आयो, मिस्टेक भएछ, साटौँ ल,' मुस्कानसहित मधुर आवाज, दोहोर्‍याएर सुन्न चाहन्थेँ। तर, नसुनेको बहाना बनाउन जानिनँ।
'हुन्छ,' मैले अनुमति दिएँ।
ऊ कप साटेर गई।
नृत्य कक्षाको त्यो पहिलो बिहान थियो। चार जना केटा, चार जना केटी। एउटीचाहिँ उही केटी जसलाई भर्खरै क्याफेमा भेटेको थिएँ। मैले सबैसँग समान व्यवहार गरेँ। केटीहरूप्रति खासै रुचि नदेखाएजस्तो गरेँ। परिचय भयो। त्यस युवतीको नाम रहेछ- आरती आचार्य।
एक दिन आरती मेरो छेवैमा उभिई। गुरुले नृत्यका चाल सिकाउँदै थिए। उसले गुरुलाई उजुरी गरी, 'सर, दर्शनले धेरैचोटि आफ्नो हात मेरो छातीसम्म ल्यायो। इट्स टु मच, आई क्यान्ट स्ट्यान्ड।'
'हो, दर्शन?' गुरुले मलाई सोधे।
'होला सर, उसैले हो भनेपछि मैले कसरी होइन भनूँ !'
'उसले हो भनेर हो कि तिमीले साँच्चिकै छोएको हो,' गुरुले चर्को स्वर गरे।
'सर, उसैलाई सोध्नुस्, नाच्दानाच्दै कसलाई कहाँ छुन पुगेँ, मलाई थाहा छैन।'
'के हो आरती?' गुरु आरतीतिर फर्किए।
'मैले भनिसकेँ त,' आरती उजुरीको अडानमै रही।
'दर्शन, आरतीसँग माफ माग्छौ कि बाहिर जान्छौ ?' गुरुले गुरुकै अधिकार प्रयोग गरे।
'दुवै गर्छु सर, आरती मलाई माफ गर,' यति भनेर म हिँडेँ।
000
लगत्तै म नजिकैको अर्को डान्स सेन्टरमा भर्ना भएँ। नृत्य कक्षापछि छेवैको क्याफेमा चिया पिउँथे, प्रायः एक्लै, जहाँ पहिलो दिन आरतीलाई भेटेको थिएँ। पछि पनि क्याफेमा प्रायः आरती र मेरो नजर जुध्थ्यो, कुनै नाता नभएझैँ। त्यसलाई हामी दुवै स्वाभाविक बनाउँथ्यौँ। आखिर नजर जुध्नुजस्तो दोहोरो गल्ती अरू के हुन सक्छ र! 
आरती सधैँ नै केही साथीसँग हुन्थी। उसको आफ्नै संसार थियो।
एक दिन म क्याफेमा मःमः खाँदै थिए। भर्खरै सुरु गरेको मात्र के थिएँ। एउटा पागलजस्तो अद्बैँसे आयो। मसँगै बसेर उसले मैले खाँदै गरेको मःमः कपाकप खान थाल्यो। उसले मःमः खाएको मैले यसरी हेर्न पुगेँछु, मानौँ उसले खाइसक्दा म एक किसिमले अघाएँछु।
वेटरले झस्क्यायो, 'दाइ तपाईँलाई अर्को केही ल्याइदिउँ ?'
'पर्दैन,' म त्यहाँबाट उठ्न खोज्दै थिएँ।
'मन्त्रीकी छोरी छे नि, त्यो निष्ठुरी। त्यसको मन छैन। त्यसको मुटु छैन। त्यसको दिल छैन,' त्यो पागलजस्तो मानिसले पागलै कुरा गर्‍यो।
जेहोस्, उसको कुराले मलाई कतै छोयो र यताउता हेर्न थालेँ। मेरा आँखा आरतीका आँखामाथि टक्क अडिए। आरतीले नजर झुकाई।
क्याफेको साहुको गालीले उसलाई छोएन। ऊ बर्बराउँदै थियो, 'यो सहरमा मानिस मानिसको साथी हुनै सक्दैन। कतै फुटपाथमा मानिस भुस्याहा कुकुरको साथी बन्छ। कतै सोफामा मानिस महँगा कुकुरको साथी बन्छ। तर, मानिस मानिसको साथी बन्नै सक्दैन। जसरी म कम्युनिस्ट बन्न सकिनँ, उसको प्रेमी बन्न सकिनँ। (चर्को हाँसो हाँस्दै) म प्रेमी नै हुँ, तर पागलप्रेमी।'
सबैको ध्यान उही पागलप्रेमीकै कुरामा थियो। चिया-खाजाको पैसा तिरेर म हिँडँे। थोरै सडक हिँडेको थिएँ, मलाई कसैले हर्न दिँदै बाटो छेक्यो। देखेँ, स्कुटरमा आरती। उही आकर्षक शरीर।
'तपाईँको बुक, क्याफेमा छुटेको थियो,' ऊ मुस्कुराउँदै बोली।
'थ्यांक यु,' म पनि मुस्काएँ। सहयोगका लागि धन्यवाद र मुस्कानका लागि मुस्कान दिएपछि हामीबीच लेनदेन बाँकी रहेन, म हिँड्न लागेँ।
'कहाँ पुग्ने हो? म पुर्‍याइदिन्छु', उसले नयाँ सम्बन्धको हात बढाई।
'भो पर्दैन, नजिकै छ, यति त हिँडिहाल्छु,' भनेर म हिँडेँ।
भोलिपल्ट-
म क्याफे छिर्ने मनस्थितिमा थिइनँ। क्याफेको ढोकैमा आरती उभिएकी थिई। मुस्कानको लेनदेन भयो।
'चिया नपिउने?' मैले बाटो काट्न लागेको देखेर उसले सोधी।
'आज नपिउने,' मैले रोकिँदै भनँे।
'हतार छ र ?'
'फुर्सद नै छ तर मुड छैन।'
'घमण्डी' भन्दै ऊ मेरो छेउ आई र मेरो हात समाएर क्याफेभित्र लगी।
आफूले मन पराएको र माया गरेको मान्छेको माया र रिस। जीवनमा यस्तो सुखद क्षण कमै भाग्यमानीले मात्रै भोग्न पाउँछन्। भाग्य बनाउन पनि कला, नीति र बुद्धि चाहिने। यस्तै-यस्तै कल्पनामा म आरतीको छेउमा हराइरहेको थिएँ। हामी एउटै मेचमा थियौँ।
'तिमीलाई याद छ ?' आरती बोली।
'के कुरा ?'
'हाम्रो पहिलो भेट यही क्याफेमा भएको थियो, तिम्रो चिया र मेरो कफी साटिएको थियो।'
'होइन, तिम्रो कफी र मेरा चियामात्र साटिएको थिएन ।'
'अनि के त ?'
'मेरो त माया पनि साटिएको थियो,' मैले भनेँ।
आरती केही बोलिन। थोरै डराएकी, धेरै लजाएकी, रिसाएकी तर रिसमा माया मिसाएकी।
'जेपीटी' केही बेरपछि आरती 'एसएमएस'को भाषा बोली, 'जे पायो त्यही।'
कफी आयो, परिस्थिति बदलियो। उसले मेरो बारे सोध्न थाली।
'एउटा निजी विद्यालयमा चित्रकला पढाउँछु, चित्रकला सिक्दै छु पनि। घर पश्चिम, नाम दर्शन दर्जी,' मैले आफ्नो बारे स्पष्ट भनिदिएँ।
'भर्खरै बीबीए सकेँ, फिटनेसका लागि डान्स सिक्दै छु,' उसले पनि आफ्नो बारे बताई, जुन मलाई पहिले नै थाहा थियो।
'हो, तिमी कवि-चित्रकारजस्तै देखिन्छौ। नरिसाऊ ल एउटा कुरा सोध्छु।'
'सोध न।'
'दर्जी भनेको तल्लो जात होइन र?'
'हो, तिमी मान्छ्यौ भने।'
'त्यस्तो होइन, तर तिमी तल्लो जातजस्तो देखिन्नौँ।'
'तल्लो जात कस्तो देखिन्छ र ?'
'त्यो त थाहा छैन। तर, तिम्रो बोली, विश्वास, पर्सनालिटी हेर्दा तिमी 'हाइ-कास्ट' नै लाग्छौ।'
म केही बोलिनँ। ऊसँग जातीयताबारे बहस गर्नु व्यर्थ छ। उसलाई हाम्रो कथित सभ्यताले तल्लो जात र निम्न वर्गलाई दया गर्न सिकाएको छ। माया र सम्मान गर्न होइन।
'रिसायौ?' म नबोलेको देखेर सोधी।
'रिसाउँदा कस्तो देखिन्छु र?' म नहाँसी बोलेँ।
ऊ हाँस्दै मःमः खान थाली।
केही दिन बिते। हामी काठमाडौँ खाल्डोदेखि पर जाने भयौँ, उसको स्कुटरमा।
बनेपातिर उसले स्कुटर हाँकिरहेकी थिई। हिउँदको समय, जाडो थियो। सडकछेवैको बारीमा आगो बलेको देखियो। मैले आगो ताप्न गरेको आग्रह उसले स्विकारी। दुवैले सुकेका बोटबिरुवा बटुलेर ठूलो आगो बाल्यौँ। एउटा आगोको झिल्को उडेर मेरो घाँटीमा आयो। आरतीले अत्तालिँदै झिल्को हातले टिपेर फाली, मैले पोलेको महसुस गर्नुभन्दा अगावै।
'दर्शन, यसरी आगो बलेको देख्दा मलाई सानो छँदाको याद हुन्छ,' यसो भनिरहँदा ऊ बच्चाजस्तै देखिएकी थिई। उसको कुरा सुन्न खोजेको मेरो आवाज र इसारासँगै ऊ अघि बढी।
'पश्चिम पहाडी गाउँमा हाम्रो घर थियो। त्यस घरमा अहिले माइला बुबा बस्नुहुन्छ। हाम्रो बुबाले यतै काठमाडौँमा घर बनाउनुभयो। म सात वर्षदेखि सहर आएकी हुँ। गाउँमा छँदा हाम्रो घर-बारीमा काम गर्ने उमा दिदीको छोरा ठूले मेरो मिल्ने साथी थियो। हामी बारीमा आगो बालेर खेल्थ्यौँ। म ठूलो आगो बल्दा खुसी हुन्थेँ। ठूलेले जसरी हुन्छ, ठूलो आगो बाल्थ्यो। म सहर आउने साल नै होला, एक दिन हामी बारीभरि डुल्यौँ। ठूलो आगो बालेर हामी रमाउन सकेनौँ। हामी डुल्दाडुल्दै ठूलेको सानो घरमा पुग्यौँ। ठूलेले आफ्नो घर जलाएर ठूलो आगो बाल्ने भन्यो। 'तिमी कहाँ बस्छौ यो घर जलाएपछि? तिम्रो घरको खानेकुरा, कपडा जल्दैन?' मैले सोधेँ।
'यो घर जलाएर तिम्रो जत्रै ढुंगाले छाएको घर बनाउँछौँ। हाम्रो घरमा केही छैन, भरे बा-आमाले काम गरेर जे ल्याउनुहुन्छ, त्यही खाने हो,' उसले भन्यो।
केटाकेटी बुद्धि मैले पनि उसको कुरा मानेँ। उसले आगो झोस्यो। घर जल्न थाल्यो। जतिजति आगो बढ्दै गयो हामी उत्ति नै खुसीले रमायौँ। केही बेरमै मान्छे जम्मा भए। घर जलाएको भनेर ठूलेलाई पिट्न थाले। म डराएर रोइरहेकी थिएँ। हजुरबुबाले मलाई घरमा ल्याउनुभयो। सहरबाट कहिलेकाहीँ गाउँ जाँदा म हजुरबा-हजुरआमासँग ठूलेको हालखबर सोध्थेँ। तल्लो जात र गरिबहरूसँग साथी बन्नु हुँदैन भनेर हजुरआमाले मलाई गाली गर्नुहुन्थ्यो। पछि त ठूले माओवादीमा लागेर मर्‍यो भन्ने खबर सुनाउनुभयो। कहिलेकाहीँ सोच्छु, कस्तो हो त्यो ठूले जसले मलाई खुसी बनाउन आफ्नो घर जलाउँथ्यो ?'
'दर्शन, मलाई किन हो, तिमी उही ठूलेजस्तै लाग्छौ ?' आरती बोली।
म नाजवाफ भएँ। त्यो दिन हामी त्यहीँबाट काठमाडौँ फर्कियौँ।
मैले नृत्यको कक्षा लिन छाडेँ। एक दिन आरतीले फोन गरी, 'दर्शन, मैले तिमीलाई सुनाएकी थिएँ नि † म सानो छँदाको कथा। ठ्याक्कै मेरो कथासँग मिल्ने एउटा पेन्टिङ भेटेँ।'
'पेन्टिङमा के छ त्यस्तो?' मैले सोधेँ।
'त्यस्तो खास केही छैन। 'गरिबी' शीर्षक छ। हुन्छ नि, गरिबहरू बस्ने घर...।'
'झुपडी' मैले भनेँ।
'हो हो, झुपडी जलाएर दुई बालबालिका रमाएका छन्। हुन्छ नि, सारा टेन्सन जलाएजस्तो गरी। हेर्दै आनन्द लाग्ने, मैले त किनेर ल्याएँ।'
'तिम्रो साथी श्रेयाको ड्याडीको बोर्डिङ स्कुलबाट ल्याएको होला, होइन?'
'हो हो, तिमीलाई कसरी थाहा भो?'
'आरती म तिमीलाई यो सहरमा पाँच वर्षदेखि पछ्याइरहेको छु। तिमी कुनै दिन श्रेयासँग त्यो स्कुल जानेछौ, पेन्टिङ देख्नेछौ र आफ्नो बाल्यकालको साथी सम्झनेछौ×। यही उद्देश्यले मैले पाँच वर्षअघि उपहारस्वरूप त्यो पेन्टिङ दिएको थिएँ। पेन्टिङमा हेर त, कसको नाम-हस्ताक्षर र कुन मिति छ ?'
'दर्शन, ठूले तिमी नै हौ ?' गला अवरुद्ध पार्दै आरती बोली।
'हो, आरती तिम्रो मनमा थोरै खुसी छर्न आफ्नो घर जलाउने ठूले मै हुँ। मेरो खुसी तिम्रो निर्णयमा छ। फेरि फोन गर्दा एउटा निर्णय गरेर मात्र फोन गर।'
यति भनेर मैले फोन राखेँ।
बीचमा एकपटक आरतीको मामाको फोन आयो। उनी इन्स्पेक्टर रहेछन्। धम्कीपूर्ण भाषा बोले, 'तैँले आरतीको पिछा गरेको छस् भन्ने सुन्छु, के हो? त्यो मेरो भान्जी हो, होस गर!'
'हो, म आरतीलाई प्रेम गर्छु,' मैले भनेँ।
'तेरो के हैसियत छ आरतीलाई प्रेम गर्ने? भलो चाहन्छस् भने आजैदेखि आरतीको पछि लाग्न छाडिहाल्!'
'एकोहोरो प्रेम न हो, छाड्नु/नछाड्नुको के अर्थ? बरु आरतीलाई सोध्नुस्, उनले पनि मलाई प्रेम गर्छिन् भने हाम्रो प्रेममा बाधा बन्न तपाईँँलाई कुनै अधिकार हुने छैन,' मैले भनेँ।
......
दुई वर्ष बित्यो, आरतीको फोन आएको छैन। कहिलेकाहीँ डायरीका यी हरफमा मेरा आँखा अडिन पुग्छन्-
प्रेममा विश्वास गर्छु जति प्रतीक्षामा गर्दिनँ म।
आउँछु भन्ने नआउन सक्छ कसैको भर पर्दिनँ म।।

Friday, December 28, 2012

शताब्दी

–ध्रुवसत्य परियार

‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा खुबै आनन्द आउँछ । बिहेअघि मेरा उनीले मलाई देउरालीबाटै सुसेलेर डाक्थे । म एकैसासमा उनलाई भेट्न पुग्थेँ । जसरी रूखको टुप्पोमा भाले जुरेली कराँउछ, अनि तल कतैबाट खुसुक्क पोथी जुरेली त्यहाँ पुग्छे ।
देउरालीमा पुग्दा आफूलाई अझै उस्तै तरुनी ठान्छु । सेतो कपालमा रातै गुराँस फुलेको पाउँछु । मेरा उनीले छपक्कै लाली–गुराँस लगाइदिन्थे । भन्थे, तिम्रो गाला गुराँसभन्दा रातो छ । देउरालीलाई साक्षी राखेर कसम खान्थ्यौँ, ‘यो लेकमा गुरा“स फुल्दासम्म हामीले एक–अर्कालाई भुल्नेछैनौँ ।’
कति मानिसले धर्म छाडे होलान् ।  यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि उनलाई भुल्न सकेकी छैन ।’
बूढीआमैले मलाई आफ्ना अनेक अनुभव र गहिरा कुरा सुनाएकी छन् । झन्डै एक शताब्दी लामो जीवन कहानी नै सुनाएकी छन् ।
उनको प्रेम–कहानीको काखमा भने म हारेको थिएँ । भावनाको नाता नै सही, म उनको छोरा÷नातिजस्तै बन्न पुगेको थिएँ । एक किसिमले म उनको काखमा हुर्किएँ । आज १६ वर्षको भएँ ।
हालसालै बूढीआमै खसिन् । ९६ वटा हिउँद खाइन् उनले । जीवनको नियति भनौँ, ९७औँ हिउँदले भने उनैलाई खायो ।
सबैले बत्तीबज्यै भनेर चिन्थे उनलाई । उनले कपासको बत्ती कात्थिन् । मुठा–मुठा पारेर माना–पाथी अन्नसँग साट्थिन् । सेतो कपाल । सेतै विधवा पहिरन । मध्यम कद । उत्साही आवाज । गोरो उज्यालो अनुहार । भन्डैझन्डै बत्तीबज्यै बलिरहेको बत्तीजस्तै थिइन् ।
मान्छेको अनुहारमा हेरेकै भरमा उसले गल्ती गरे\नगरेको, अन्यायमा परे\नपरेको, अनि उसको नियत र संस्कार सजिलै खुट्ट्याउन सक्थिन् उनले । बत्तीबज्यैलाई गाउँका बूढापाका, केटाकेटी सबैले सम्मानपूर्वक हेर्थे । उनको उमेर–अनुभव, बोली–व्यवहारले निर्माण गरेको जुन छवि थियो, त्यस छवि–छायामा गाउँ–छिमेकका  ठूलाबडा सबै ओइलाउँथे ।
‘बाँच्दासम्म यही माटो भोग–चलन गर्ने हो । मरेपछि यही माटोमा मिल्ने हो । यो पृथ्वी ठूलो जनावरजस्तै हो । हामी उपियाँ\उडुसजस्तै हौँ । व्यर्थै  किन मान्छे उफ्रेर अरूभन्दा माथि जान खोज्छ ? अरूलाई चुसेर धेरै मोटाउन खोज्छ ? सबै मिलेर धर्तीलाई भोग–चलन गरे हुने ।'
मान्छेभित्र सत् हुन्छ । त्यो सत्ले पहिले त सबै मानिसलाई समान देख्छ । त्यो सत्ले न्याय\अन्याय खुट्ट्याउन सक्छ । मान्छेले आफ्नो सत्लाई बेच्यो भने उसले धर्म छाड्यो भनेर जान्नु ।
अर्को कुरा, मान्छेभित्र सबैभन्दा उपद्रो कुरा त माया–पिरती हुन्छ ।
माया जालमा फस्दै नफस्नु फसिहाले नभाग्नू ।
जोगी भएर हिँड्नु बरु मायाको भिख नमाग्नू ।।
यो संसारै माया–मोह त हो नि । यसबाट भागेर कहाँ जानु । माया भिख लिनेदिने वस्तु पनि होइन, किन भिख माग्नु । माया–पिरतीमा  मान्छेको जात र धन–सम्पत्ति बाधा हुनुहुँदैन ।’
केही समयअघि गाउँका जग्गा विवाद, करणी, नाजायज सम्बन्ध, प्रेम–प्रसंगजस्ता मुद्दा मिलाउने  विषयमा पञ्चका माझ बत्तीबज्यै बोलेकी थिइन् । उनी बोल्दा पञ्च मौन थियो, कुनै धर्मगुरुको प्रवचन सुनेजस्तै ।  जहाँसुकै उनी बोल्दा कसैले खोकिहाले पनि उसले गल्ती गरेको महसुस गथ्र्यो । यही नै उनीप्रतिको सम्मान थियो । पञ्च बस्दा बत्तीबज्यैले विवादका विषयमा आफ्ना केही कुरा राख्थिन् । अनि एउटा निर्णय दिन्थिन् र तत्कालै हिँडिहाल्थिन् ।
पञ्चले आफ्नो कुरा मानोस्\नमानोस्, ध्यान दिन्नथिइन् । अन्ततः पञ्चमा उनकै निर्णय मान्य हुन्थ्यो ।
०००
उनकै अनुसार उनी यस गाउँमा तीस वर्षअघि आएकी हुन्, आफ्ना पतिसँग ।  आउँदा केही तोला सुन र पेन्सन–पट्टा लिएर आएका थिए । उनका पति बेलायत सरकारको भूतपूर्व सैनिक थिए । आएकै साल उनका पति खसे, त्यस्तै ६५ वर्षको उमेरमा । उनका पति उनीभन्दा झन्डै चार वर्ष जेठा थिए ।
यहाँ आएर यो दम्पतीले यति मात्रै बताएको थियो, ‘हाम्रँे घर पूर्वमा पर्छ । हाम्रँ छोरा\नाति सहर–बजारतिर लागे, गाउँ–ठाउँमा रहर गरेनन् । हाम्रँे घरबारी पनि पहिरोले लग्यो । खै कुन भाग्यले हो, हामी बूढाबूढी भने बाँच्यौँ । त्यसपछि विरक्तिएर हिँडेका हामी यहाँ आइपुग्यौँ । किन–किन यस गाउँसँग हाम्रो कुनै पुरानो नाता भएझैँ लाग्यो । हामी यहाँ घरजम गरी बस्न चाहन्छौँ ।’
यहाँको समाजले यी वृद्धावृद्धलाई आश्रय दियो । राम्रै घरजम गरी बस्न थाले ।
मेरा बाले बत्तीबज्यैको गारो–सारो काम गरिदिन्थे— जोत्ने–खन्ने, घर–गोठ मर्मत गर्ने, कपडा सिलाउने यस्तै–यस्तै । मेरी आमाले मेलापातको काममा सघाउँथिन् । गाउँ–घरमा तल्लो जात र निम्न वर्गले ठूला–बडालाई सघाएरै जीविका चलाउने त हुन् । जेहोस्, हाम्रो परिवारलाई बत्तीबज्यैले विशेष माया गर्थिन् । यसै सिलसिलामा म पनि बत्तीबज्यैको प्रिय–पात्र बन्न पुगेँ । उनले मलाई कान्छा भनेर बोलाउँथिन् । बत्तीबज्यै र हाम्रो घर वारिपारि थियो, बीचमा एउटा खोल्सो । उनले आफ्नो घरबाट कान्छा भनेर बोलाएको मैले मेरो घरमा लगभग सुन्थेँ । उनले बोलाइन् र मैले सुनेँ, उनको आवाज खोल्सातिरै प्रतिध्वनित भइरहेकै बेला म उनको घरमा पुग्थेँ सायद ।
उनी मलाई मीठो–मीठो खान दिन्थिन् । कहिलेकाहीँ खुद्रा काम अह्राउ“थिन् । कति धारिलो माया गर्थिन् उनले मलाई । मैले कतै सानो बिराम गरेको कसैले सुनायो भने पनि उनले मलाई डाक्थिन् । सबै जानीजानी पनि म उनको घरमा जान्थेँ । पहिले पेटभरि खान दिन्थिन् । अनि, बिरामको कुरा उठाएर सानो लौरीले मेरो पिँडौलामा माया र रिस खन्याउँथिन् । उनले नबोलाईकन म उनको घरमा जान्नँथेँ । दुई\चार दिनसम्म पनि बोलाइनन् भने मैले जानीजानी बिराम गर्थें । कतिको खुर्सानी बारीको बार, जिम्मावालहरूको कुलो भत्काइदिन्थेँ । ताकि उनले मलाई बोलाऊन् ।
उनले मलाई त्यति धेरै माया गरेको रहस्य जब थाहा पाएँ, नबोलाईकनै म उनको घरमा जाने भएँ ।
उनले एकदिन रहस्य खोलिन्—
म यही गाउँकी जिम्मावाल खान्दानकी छोरी हुँ । नौ वर्षकी हुँदा मुखिया खान्दानमा मेरो बिहे भएको थियो । बिहेपछि पनि म माइतीमै बस्थेँ । मेरा पति संस्कृत पढ्न नेपाल (अहिलेको काठमाडांै) वा बनारस यस्तै कता गएका थिए । मैले मेरा पतिलाई राम्रोसँग चिनेकी पनि थिइनँ । उनीप्रति मेरो माया पलाउन पाएकै थिएन । म तरुनी हुँदै गएँ । बरु मेरो मनमा अरू कसैको माया पलायो, उनी तल्लो जातका थिए । म सत्र\अठार पुगेपछि हामी भाग्यौँ, कलिलो माया हुर्काउन लाग्यौँ ।
तल्लो जातको भएर मुखिया–जिम्मावाल खान्दानमा हात हाल्नु, वा मेरा उनीले मलाई भगाउनु, बघिनीको मुखबाट डमरु छटाउनुजस्तै थियो । त्यसका लागि बाघै हुनुपथ्र्यो, उनी भए । बाघले सिकार लिएर जसरी आफ्नो गन्तव्यतिर भाग्छ, उसरी नै हामी भाग्दै–भाग्दै नेपाल खाल्डोदेखि धेरै पूर्व पुग्यौँ । एक रात एउटा ठाँटीमा बास बसेका थियौँ । राति हामीलाई बाघले आक्रमण ग¥यो । मेरा उनीले खुकुरीको भरमा बाघ मारे । त्यो घाइते बाघ नरभक्षी रहेछ । त्यसले त्यहाँका मुखियाको सन्तानलाई पनि खाएको रहेछ । मुखियाले त्यो बाघ मार्नेलाई केही जमिन दिने घोषणा गरेका रहेछन् । हल्ला–खल्लापछि हामीलाई राति नै मुखियाकहाँ पु¥याइयो । हामीले साँचो–साँचो बतायौँ । मुखिया ठूलो दिलका रहेछन् । हामीलाई पानी चल्ने जात बनाए । सत्य र माया–पिरती ईश्वरकै शक्ति भएर हो कि, हामी जीवनभरको दुःखबाट मुक्त भयौँ । सोच्थेँ,  राजाले नै ‘सबैलाई पानी चल्ने जात’ घोषणा किन नगरेका होलान् ? यसो गर्दा कति धेरै मान्छे ठूलो दुःखबाट सजिलै मुक्त हुन्थे । हुनत, राजालाई यी मान्छेको दुःख थाहै छैन होला, कसले भनेर थाहा होवोस् । कहिलेकाहीँ त मलाई यस्तै आवाज लिएर राजाकहाँ जाने मन हुन्थ्यो ।
पछि, मेरा उनी लाहुरे भए । पेन्सन आए । हाम्रा छोरा\नाति सहर–बजार बस्ने, विदेश पढ्ने भए ।
एकदिन आफ्ना सन्तानलाई हाम्रो कथा सुनायौँ, तर आफूहरू तल्लो जातको शाखा–सन्तान भएको उनीहरूले मन पराएनन् । बिस्तारै हाम्रा सन्तानले हामीलाई नै मन पराउन छाडे । त्यसपछि हामी विरक्तिएर हिँड्यौँ । आफ्नै गाउँ फर्कियौँ । यहाँ हामीलाई कसैले चिनेनन् । आफू जन्मेको, हुर्केको, खेलेको, माया–पिरती भएको ठाउँमै आज यो बुढेसकाल बाँच्न पाउँदा आफूलाई सौभाग्यवती ठानेकी छु ।
कान्छा ! तैँले मेरा उनीलाई त देखिनस् । उनी बितेको पनि आज त्यस्तै तीस वर्ष भयो । नाताले मेरा उनी तेरा हजुरबा पर्छन् ।
कहिलेकाहीँ आफ्ना पतिको कुरा गर्दागर्दै बत्तीबज्यैले रहस्यमयी आँसु झार्थिन्, म त्यो आँसुसँगै गल्थेँ । कहिलेकाहीँ खै कुन सुख सम्झेर हो, उस्तै रहस्यमयी हाँसो हाँस्थिन्, म त्यो हाँसोसँगै बल्थेँ ।
बत्तीबज्यैले आफ्नो कथा सारा गाउँलेलाई सुनाएर मात्र मर्छु भनेकी थिइन् । तर, हिउँदको झरीले हठात् उनी खसिन् । अब उनको कथा म दुनियाँलाई सुनाउँदै हिँड्नेछु ।
०००
म चौध वर्षकी हुँदा यो कथा मलाई कान्छाले नै सुनाएको थियो । कथा सुनाएकै रात कान्छा गाउँ छाडेर गयो । अझै फर्केको छैन ।
सानोमा मलाई सबैले कान्छीमैयाँ भन्थे, कान्छाले पनि यही भन्थ्यो । एउटै स्कुलमा पढ्ने, एउटै गाउँले थियौँ हामी । बत्तीबज्यैको घरमा पनि हाम्रो भेट भइरहन्थ्यो ।
एकदिन गुराँस टिप्न जाँदा कान्छा रूखबाट लड्यो । भुइँमा लडेपछि उठ्नै सकेन । म डाँको छोडेर रोएँ । गाउँले आएर खै के–के गरे । दुई\चार दिनमै कान्छालाई सञ्चो भयो । कान्छा लड्दा म रोएको कुरा बत्तीबज्यैले थाहा पाइछन् । उनले हामी दुवैलाई बोलाएर जिस्काउन थालिन् । मैले लजाउँदै कान्छालाई नियालेँ । बत्तीबज्यैको सामु आफू कम लजाएकामा बल्ल लाज लाग्यो, कान्छा त भुतुक्कै भएको थियो ।
एक दिन मैले कान्छालाई सोधेकी थिएँ, ‘तिमीले किन जिम्मावालहरूको कुलो भत्कायौ ?’
‘यो भत्काएपछि घरमा बोलाएर मलाई बत्तीबज्यैले गाली गर्नुहुन्छ, उहाँले नबोलाएको धेरै दिन भयो ।’
कान्छाको कुरा मैले बत्तीबज्यैलाई सुनाएँ । उनले यति मात्र भनिन्, ‘म मरेपछि त्यसलाई कसले बोलाउँछ ।’
आज दस वर्ष बित्यो । म चौबीस वर्षकी भएँ । सहरबाट ग्राजुएसन सकेपछि गाउँकै विद्यालयमा पढाउन थालेकी छु । घरमा मेरो बिहेको कुरा चलेको छ ।
बत्तीबज्यैको प्रेम र वैवाहिक जीवन सम्झन्छु । उनले बाँचेको झन्डै एक शताब्दीको अवधिमा संसारभरि नै रंगभेद, जातीय विभेद-छुवाछुत उन्मूलनका लागि धेरै प्रयास भए, अझै जारी छ ।
आज कान्छा कहाँ होला ? यो दश वर्षमा देशमा ठूलो राजनीतिक परिवर्तन भयो । कैयौँ सहिद भए । डर लाग्छ, कतै कान्छा पनि... । हिजो खुर्सानीको बार र जिम्मावालहरूको कुलो भत्काउँदै हिँड्ने कान्छा, आज समाजका कुरीति, विकृति, विसंगतिलाई भत्काउँदै हिँडेको होला कि ! मानवीय प्रेम बाँड्दै हिँडेको होला वा मानव धर्म छाडेको होला !
जेहोस्, अझै यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि कान्छालाई भुल्न सकेकी छैन ।
०००

Thursday, June 25, 2009

हजुरबाको हुक्का

हिजो दिनको उज्यालोमै
हाम्रो घरमा चोर पस्यो
र सर्वोस्व लुटेर लग्यो
तर लगेन- हजुरबाको हुक्का ।

हजुरबाले पुराण सुनाउनु हुन्थ्यो
पुस्तौं पुरानो यो हुक्का
चोरहरुले नै छाडेर गएका थिए रे
ती चोरहरु
जस्ले आकाश-तत्वबाट
ॐ को आवाजलाई फोर्न चाहन्थे
शास्त्रका शब्दहरुलाई चोर्न चाहन्थे
वेदलाई त आफ्नै बँशको अँशको सम्झन्थे
र भन्थे रे-ब्रह्म सत्य जगत मिथ्या !
ती चोरहरुमा थियो जो धृष्टता
जब आफैलाई जित्न सकेनन्
तब संसारलाई जित्नतिर लागे
निमूखालाई मिच्नतिर लागे
र त्रास फैलाउन थाले यस्तो एउटा-
ए शुद्रहरु हो सुन !
हामीले भनेको मान
हाम्रै हुक्का तान
नत्र रिसाउने छन् देवता ।

मलाई हेक्का छ
हजुरबाले हुक्का तानेको आवाज
जुन कोही हाँसेको वा रोएको जस्तो पनि होईन
कुनै सूर वा तालले छोएको जस्तो पनि होईन
हो यो हुक्काले युवाहरुको आवाज उठाउँदैन
र मलाई हजुरआमाको सम्झना पनि गराउँदैन
हुर् याई दिउँ जस्तो लाग्छ
यो हजुरबाको हुक्का
यही हुक्कालाई तान्दा-तान्दै
उही पुराना मान्यतालाई मान्दा-मान्दै
खस्नु भएथ्यो हाम्रो हजुरबा ।

अचम्मै भयो
समयसँगै यो हुक्का बढ्दै-बढ्दै आयो
संसारमा कहिँ कतै नअटाउला जस्तो
यो एमानको हुक्कालाई
हामी हजारौं मिलेर
ज भिरबाट खसाल्दै छौं
अहो कत्रो भिड हो त-
तल काँध थाप्नेहरुको !
आखिर यिनीहरु नै सती जान्छन् भने
हाम्रो भन्नु के रह्यो

हिजो दिनको उज्यालोमै
हाम्रो घरमा चोर पस्यो
र सर्वोस्व लुटेर लग्यो
तर लगेन- हजुरबाको हुक्का ।