Friday, November 21, 2014

सहिदकी छोरी


बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ । हल्लाले चारभञ्ज्याङ खायो । निर्झरी २९ वर्षीया एकल महिला हुन् । उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो । देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो । यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ । किनभने, वस्तु र वास्तविकता कतै पर छ । सुरुसुरुमा निर्झरी काम्दै बर्बराउन थालिन् । गाउँलेले उनलाई बोक्सी भने । घर-परविारले यातना दियो । तर, उनको बेलाबेला काम्ने र बर्बराउने कार्य निरन्तर नै रह्यो ।
एक दिन उनलाई ठूलाघरे जिम्मावालको मृतात्मा उत्रियो । जिम्मावाल खसेको त्यस्तै आठ-दस वर्ष मात्रै भएको थियो । जिम्मावालका छोरा-नाति गाउँको सारा सम्पत्ति बेचेर सहर पस्ने तरखर गर्दै थिए । गाउँ छाड्नु केही दिनअघि उनीहरूले गाउँलेलाई भोज खुवाए । भोज खाँदाखाँदै निर्झरीलाई पितृ उत्रियो : 'म ठूलाघरे जिम्मावाल हुँ । आफ्ना सन्तानदेखि म खुसी नै छु । सबैले उन्नति गरेकै छन् । तर, थातथलोलाई यसरी चटक्कै छाडेर जान नहुने थियो । ठीक छ, तिमीहरूको खुसी गर ! शाखा-सन्तानको खुसी नै पितृको खुसी हो । जानुअघि हाम्रा नाममा बर-पीपलको चौतारी बनाएर जानू, हाम्रो आत्मा बिसाउने स्थान होस् । अँ, मैले धेरथोर जालझेल गरी दीनदुःखीका जग्गा-जमिन खाएको थिएँ । उनीहरूलाई नै हकदाबी गर्न लगाएर फिर्ता दिनू । माथि कालिकाको मन्दिरमा पित्तलको मूर्ति छ । त्यहाँको सुनको मूर्ति मैले ल्याएको थिएँ । त्यसलाई तिमीहरूले सहर लगेर बेच्ने कुरा गर्दै छौ । त्यसो नगर ! त्यस मूर्तिलाई कालिकाको मन्दिरमै पुनःस्थापना गर्नू । यति गर्‍यौ भने मेरो आत्माले शान्ति पाउनेछ ।' यसपछि निर्झरीको घरमा पितृ बोलाउन आउनेको घुइँचो लाग्न थाल्यो ।
---
यता, पालुवाटारका शिवशंकर पहाडी चुनाव लड्ने भए । उनका पिता रामभक्त पहाडी प्रधानपञ्च थिए । त्यसैले पनि ०४६ सालको परिवर्तनदेखि नै जिल्ला, क्षेत्रमा शिवशंकरको उत्पातै नेतागिरी चल्छ । शिवशंकर पहाडीको व्यक्तित्व पहाडजस्तै छ । अग्लो कद । लामो कपाल, लामै दाह्री-जुंगा (पहिले कालो, अहिले सेतो) । सानोतिनो सभा/भेलाका लागि माइक नै नचाहिने ठूलो आवाज । साम, दाम, दण्ड, भेदको खेल बुझेका । एक प्रकारले उनी राजसी ठाँटका देखिन्छन् । आफ्नो जिल्ला, क्षेत्र हुँदै सिंहदरबारसम्म छिरेर टेबल ठटाएपछि सानोतिनो बजेट-कार्यक्रम उनको क्षेत्र-पोल्टोमा पुग्नैपर्छ ।
दुर्भाग्य भनौँ, उनको पदीय हैसियत गाविस अध्यक्षभन्दा माथि छैन । सांसदका लागि उम्मेदवार हुन पनि पाएका थिएनन् । सांसद बन्ने रहरमा उनले थुप्रै सम्पत्ति सिध्याए । बाबुको देहान्तपछि आमा बिरामी परिन् । नेपाली र भारतीय डाक्टरसम्मले रोग पत्ता नलगाईकनै आमाको पनि निधन भयो, ९० वर्षको उमेरमा । आमालाई सांसद भएर देखाउने उनको रहर अधुरै रह्यो ।
विगत १२ वर्षदेखि शिवशंकर बढी नै धार्मिक भएका छन् । मातापिताको चिरशान्तिका लागि उनी हरेक बिहान पूजापाठ गर्छन् । ०६४ सालको संविधानसभा चुनावका लागि पार्टीले शिवशंकरलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर, उनले मधेसबाट चुनाव लड्नुपथ्र्यो । पहाडीले मधेसबाट चुनाव जित्नु चानचुने कुरा थिएन । पछिल्लो समय मधेसमा एकसे एक स्थानीय नेताको प्रभाव बढ्दो थियो । मधेसी जनताले पनि पहाडी नेताबाट आफूहरूको परविर्तन नहुने बुझेका थिए ।
शिवशंकर पहाडीलाई चिन्ता पर्‍यो, चुनाव कसरी जित्ने?
उनकी श्रीमती पार्वतीदेवीले युक्ति दिइन्, 'हामीले पनि पितृ बोलाएर बुझौँ, उहाँहरूको आत्मालाई कस्तो छ? अनि, यो चुनाव लड्नु उचित छ/छैन? शुभकार्यमा पितृलाई सम्झनु रामै्र हुन्छ ।' 'कुरा ठीकै हो ।' शिवशंकर पितृ बोलाउन बेचयनपुर पुगे । उनले पहिले आमाको आत्मालाई बोलाउने निर्णय गरे ।
निर्झरीलाई पितृ उत्रियो, 'छोरा ! तैंले हाम्रो आत्मशान्तिका लागि पूजापाठ गर्दै आएको छस् । म तँदेखि खुसी नै छु । आफ्नो थातथलोमा बाटो-घाटो, बिजुली ल्याएको छस् । स्कुल-क्याम्पस खोलेर गाउँको विकास गरेको छस् । सबै राम्रै गरेको छस् । तर, गाउँका कति गरबि, भूमिहीन जनतालाई तैंले गरेको विकास कागलाई पाकेको बेल बनेको छ । उनीहरूलाई बाँच्न झनै कठिन भएको छ । उनीहरूले बोक्ने भारी पनि गाडीले खोसेको छ । उनीहरूले गर्ने काम मेसिनले गर्न थालेको छ । घरदैलोको स्कुल-क्याम्पस पनि उनीहरूलाई बिरानो बनेको छ । अब तैंले चुनाव जितेर ती दीनदुःखी जनतालाई पनि उन्नति पथमा हिँडाउनुपर्छ ।'
'आमा, मैले कसरी चुनाव जित्न सक्छु?'
निर्झरीको जवाफ आयो, 'पारि दुःखीनगरमा एउटी आमिश्रा नाम गरेकी कन्या छे । त्यस कन्याको बायाँ आँखाबाट झरेको हर्षाश्रु पिउनू, तैँले अवश्य चुनाव जित्नेछस् ।'
---
आमिश्रा सहिद परिवारकी छोरी रहिछन् । पिता सहिद भएपछि उनको परिवार ठूलो दुःखमा परेको रहेछ । शिवशंकरले त्यो सहिद परिवारलाई सहयोग गरे । आमिश्रालाई छात्रावासमा राखेर पढाउने व्यवस्था मिलाए । आमिश्राको रेखदेखका लागि एउटी महिला खटाएका थिए । ती महिलालाई गोप्य निर्देशन थियो, आमिश्राको हर्षाश्रु कुनै भाँडामा संकलन गर्नू ।
आमिश्राले धेरैपटक आँसु खसाइन् । देशको अवस्था पनि जनता रुवाउने नै थियो । आमिश्राले हर्ष या विस्मात् कुन अवस्थामा आँसु झारनि् भन्ने ती सुसारेले खुट्याउन सकिनन् । अर्कोतिर, आमिश्राको प्रत्येक आँसु विपक्षी उम्मेदवारलाई बेच्न एउटा गिरोह नै लागेको थियो । धेरै दिन बित्यो । शिवशंकरले आमिश्राको हर्षाश्रु पिउन पाएनन् । उनले शंका गरे । त्यसपछि आमिश्राकी सुसारे महिलालाई नै हटाए । र, नौवर्षे आगम नाम गरेको एक बालकलाई खटाए ।
आगम टुहुरो थियो, सहरको सडकबालक । ऊ कहाँबाट सडकमा आइपुग्यो, उसैलाई थाहा थिएन । तर, शिवशंकरलाई थाहा थियो, कुनै पनि काम दीनदुःखी वा असहायले इमानदारीपूर्वक गर्छन् । शिवशंकरले उसलाई सडकबाट उठाएर आगम नाम दिए । गाँस-बास दिए । काम पनि दिए । उसको काम आमिश्रासँगै खेल्नु, आमिश्रा खुसीले रोएका बेला आँसु संकलन गर्नु ।
आगम र आमिश्रा सँगै खेल्थे । आगम आमिश्राभन्दा थोरै जेठो थियो । एक दिन आगमले सोध्यो, 'आमिश्रा, के गर्दा तिमी धेरै खुसी हुन्छ्यौ?'
'गाउँमा मेरा धेरै साथी छन् । तिनीहरू स्कुल पढ्दैनन् । तिनीहरूसँग खेल्न, पढ्न पाएदेखि म कत्ति खुसी हुन्थेँ,' आमिश्राले भनिन् ।
'म तिम्रा साथीहरूलाई बोलाउन जान्छु । उनीहरूलाई पनि यहीँ तिमीसँगै पढाउने । उनीहरू यहाँ तिमीसँगै बस्न पाएनन् भने तिमी पनि नबस । घरमा गएर आफ्ना साथीसँग खेल, हाँस !'
आगमका कुराले आमिश्रा निकै खुसी भइन् । उनी उफ्रेर आगमको अँगालोमा बेरिन् र हर्षाश्रु झारनि् । उनको बायाँ आँखाबाट खसेको आँसु आगमको मुखमा पर्‍यो । त्यही दिन आमिश्राका साथी बोलाउन गएको आगम फेरि फर्केन ।
---
सात वर्ष बित्यो ।
मधेसमा आफ्नो कुनै जोर नचल्ने देखेपछि शिवशंकरले उम्मेदवारी नै फिर्ता लिएका थिए । उनले आमिश्रालाई पनि घर पठाए । संविधानसभाको चुनाव भयो । तर, संविधान बन्न सकेन । दोस्रो संविधानसभाको चुनाव गरी संविधान बनाउनका लागि जनता आन्दोलनमा उत्रिए । आन्दोलनकारी युवा नागरकि मञ्चमा गएर परविर्तनका कविता-गीत सुनाउथे, भाषण दिन्थे ।
यसैबीच, एक करबि १६ वर्षे बालक मञ्चमा गएर आमिश्राको आँसुको कथा सुनायो । ऊ आगामी चुनाव जित्ने निश्चित भएको नेताजस्तै बोलिरहेको थियो । यही बेला मञ्चमै उसको छातीमा गोली वषिर्यो । आन्दोलनकारी भागाभाग भए ।
भोलिपल्ट त्यस युवकको शवलाई नागरकिका तर्फबाट भव्य अभिनन्दन गरियो । रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि सामाजिक सञ्जाल फेसबुकमा युवककै समाचारले स्थान पायो । त्यो पार्थिव शरीर आगमको थियो । आगमको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन जनता उर्लिएर आएका थिए । 'आगमलाई सहिद घोषणा गर्, घटना छानबिन गरी हत्यारालाई कारबाही गर,' जनताले नाराबाजी गररिहेका थिए ।
आगमको शवमाथि श्रद्धाको फूल चढाउन आमिश्रा आइपुगिन् । त्यहाँ आमिश्रालाई कसैले चिनेका थिएनन् । सात वर्षअघि साथी बोलाउन गएको साथी आगमको शव, फूलैफूलले छोपिएको थियो । आमिश्राले आगमको पार्थिव शरीरलाई धेरै बेर हेर्न सकिनन् । आँखा बन्द गरेर श्रद्धाको फूल चढाइन् । र, श्रद्धाञ्जलि दिन आउनेहरूतिर आँखा दौडाइन् । जनसागर उनको आँखामा अटाएन । उनी हर्षले रोइन् । यसपालि भने बायाँ आँखाबाट खसेको आँसु उनकै मुखमा पर्‍यो ।
-ध्रुवसत्य परियार
नेपाल साप्ताहिक
अंक: ५६२
२०७० भाद्र २३
Sep 8, 2013